काठमाडौं । ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ आज संसद्मा दर्ता हुँदै छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आज बस्ने प्रतिनिधिसभाको बैठकमा उक्त विधेयक दर्ता हुने जानकारी दिए ।
मन्त्री गुप्ताका अनुसार दुईवर्षे ‘कुलिङ पिरियड’ यथावत राखेर विधेयक दर्ता र पारित हुने छ ।
कुलिङ पिरियडविरुद्ध सरकारका सचिवहरूदेखि मुख्यसचिवसम्मले विरोध जनाइरहेका बेला मन्त्री गुप्ताले उक्त व्यवस्था फेरबदल नभई ऐनका रूपमा आउने स्पष्ट गरे । मुलुकमा सुशासन कायम राख्ने र कर्मचारीहरूलाई जवाफदेही बनाउने उद्देश्यअनुसार उक्त प्रावधान राखिएकाले संशोधन नहुने उनको भनाइ छ ।
कुलिङ पिरियडको प्रावधानले सार्वजनिक सेवामा रहँदा समाजसँग टुटेको आफ्नो सम्बन्ध नवीकरण गर्ने तथा समाजको यथार्थ बुझ्ने मौका कर्मचारीहरूमा सिर्जना हुने भएकाले सकारात्मक रूपमा लिनुपर्ने मन्त्री गुप्ताको तर्क छ ।
राज्य व्यवस्था तथा सुशासन समितिमा लामो छलफल, बहस र विज्ञहरूको सुझावका आधारमा यो प्रावधान राखिएको मन्त्री गुप्ताले बताए ।
उनले कुलिङ पिरियड राख्ने विषयमा सबै राजनीतिक दलका नेताहरूसमेत सहमत रहेको स्मरणसमेत गराए ।
FACEBOOK COMMENTS