काठमाडौं । ग्रीलजन्य फलाम र निर्माण सामग्रीको अनियन्त्रित रूपमा भएको उच्च मूल्य वृद्धिले सम्पूर्ण ग्रील उद्योग बन्द हुने अवस्थामा पुगेको भन्दै ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा फलामको कच्चा पदार्थ ब्लेडको मूल्यमा वृद्धि नभएको अवस्थामा पनि नेपाली बजारमा केही सीमित उद्योगी र सरकारमा रहेका मानिसहरूको आपसी मिलेमतोमा ग्रीलजन्य फलामको मूल्य बढाइएको भन्दै महासंघले आपत्ति जनाएको छ ।
देशभर सञ्चालित ११ हजार भन्दा बढी ग्रील उद्योग त्यसमा कार्यरत करिब एक लाख ६० हजार श्रमिक र तिनमा आश्रित १५ लाख व्यक्तिको रोजगारी गुम्ने अवस्था आएकोले अस्वभाविक मूल्य वृद्धिको अनुगमन गरी उचित कारबाही गर्ने व्यवस्था मिलाउन महासंघले सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ ।
यस्तो संवेदनशील विषयमा सरकारको ध्यानाकर्षण नभए सम्पूर्ण उद्योगी व्यवसायीहरूले सम्बन्धित प्रमुख जिल्ला अधिकारीमार्फत उद्योग व्यवसायको साँचो सरकारलाई बुझाएर व्यवसाय बन्द गर्नुको विकल्प नभएको महासंघका अध्यक्ष ठूलोबाबु श्रेष्ठले बताए । अस्वाभाविक रूपमा बढेको ग्रीलजन्य फलामको मूल्य तुरुन्त मल्यवृद्धि फिर्ता गरेर सहज वातावरण नबनाए फलाम जन्य वस्तु उत्पादक कम्पनी र हार्डवेयरहरूको विरुद्ध संघर्ष गर्न बाध्य हुने समेत जानकारी गराउँदै संघर्ष बाटहुने परिणामको सम्पूर्ण भागिदार सरकार र सम्बन्धित पक्ष हुने महासंघका अध्यक्ष श्रेष्ठले चेतावनी दिए ।
अनियन्त्रित र अस्वाभाविक ग्रीलजन्य फलामको मूल्य अत्यधिकरूपमा बढेको कारण व्यवसाय नै धराशयी हुने स्थितिमा मात्र पुगेको छैन आम उपभोक्ताहरू समेत मारमा परेको महासंघको भनाइ छ । वार्षिक ५० अर्ब भन्दा बढीको ग्रील जन्य सामग्रीहरूको उत्पादन गर्दै आएका व्यवसायीहरू विरुद्ध अस्थायी सरकार र राजनीतिक संक्रमणकालको फाइदा उठाउँदै ठूला कम्पनीहरूले गरेको मनोमानी विरुद्ध ग्रील तथा स्टील व्यवसायी महासंघ नेपाल गम्भिर आपत्ति जनाउँदै आम व्यवसायी तथा उपभोक्ताहरूलाई एकजुट भएर अगाडी बढ्न आह्वान गरेको छ ।
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) तथा कथित आर्थिक मन्दिको प्रभावको कारण बन्द भई मारमा परेका उद्योगहरू विस्तारै सञ्चालनमा आउन नपाउँदै पटक पटक ग्रीलजन्य फलाम र निर्माण सामग्रीको अनियंन्त्रित रूपमा भएको उच्च मूल्य वृद्धिले सम्पूर्ण ग्रील उद्योग बन्द हुने अवस्थामा पुगेको अवस्थाप्रति महासंघले चिन्ता व्यक्त गरेको छ ।
FACEBOOK COMMENTS