दुई वर्षपछि आयोजित ‘फीन इलेक्ट्रो टेक २०२४’ मेला बिहीबारदेखि सुरू भएको छ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा सुरू मेला मंसिर २ गतेसम्म चल्नेछ । ‘प्रविधिको नयाँ आयाम, विद्युतीय सामग्रीमा सुरक्षा र गुणस्तर कायम’ नाराका साथ सुरू भएको मेलामा विद्युत तथा विद्युतीय सामग्रीहरूको व्यवसाय विकास एवं यस क्षेत्रसँग आबद्ध आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवर्द्धनका लागि इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्रीहरूको अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी गरिने महासंघले जनाएको छ । मेलाका विषयमा केन्द्रित रहेर कर्पोरेट खबरले नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष रेशमप्रसाद देवकोटासँग कुराकानी गरेको छ । प्रस्तुत छ, सोही कुराकानीको सम्पादित अंश :
दुई वर्षपछि नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा ‘प्रविधिको नयाँ आयाम, विद्युतीय सामग्रीमा सुरक्षा र गुणस्तर कायम’ नारासहित ‘फीन इलेक्ट्रो टेक २०२४’ सुरू भएको छ, यस वर्षको मेलाको पूर्वतयारी कस्तो रह्यो ?
लामो समयदेखिको गृहकार्यपछि हामीले यसलाई टुंगोमा पुर्याएर बिहीबारदेखि मेला सुरू गरेका छौं । यस मेलामा हाम्रा आठवटा ‘टाइटल स्पोन्सर’हरू रहेका छन् । मेलाको उद्घाटन उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहबाट गरिएको छ । उद्योग वाणिज्य महासंघका पदाधिकारीलगायतको सहभागिता छ । यस वर्षको मेलामा हामीले गुणस्तरमा ध्यान दिएका छौं । यो मेला जानकारीमूलक र सन्देशमूलक हुनेछ ।
उपभोक्ताले विगतका वर्षभन्दा यस वर्षको मेलामा केके कुरामा नयाँ अनुभूति गर्न सक्नेछन् ?
यो वर्षको मेलामा विगतको भन्दा नयाँ टेक्नोलोजीबाट बनेका विभिन्न विद्युतीय सामग्रीको अवलोकन गर्न पाउनु हुनेछ । यस मेलालाई व्यापारभन्दा पनि उपभोक्ता र व्यवसायी जोड्ने कडीका रूपमा लिनुपर्छ । अर्कातर्फ, हामीले यस वर्ष स्वदेशी तथा विदेशी सामानहरूलाई पनि स्टलमा राख्नेछौं । फरक गुणस्तर नै मेलाको नयाँपन हुनेछ ।
अहिले हामी लामो समयदेखि आर्थिक मन्दीको चपेटाबाट गुज्रिरहेका छौं, यो मन्दीले इलेक्ट्रिक क्षेत्रमा कस्तो असर पुर्याएको छ ?
साँच्चिकै हामी अहिले आर्थिक मन्दीको चपेटामा परेका छौं । यो मन्दीको असर हाम्रो क्षेत्रमा पनि परेको छ । समग्र व्यवसायमा परेको छ । विशेषगरी रूस-युक्रेन युद्धले हामीलाई असर परेको छ । अहिले आर्थिक संकुचनमा परेका छौं । अहिले ३० देखि ४० प्रतिशतसम्म मात्रै व्यापार छ । मुख्यगरी अहिले आर्थिक अवस्था चलायमान हुनुपर्छ भन्ने हो ।
टेक्नोलोजीको क्षेत्रमा अन्य मुलुकहरू निकै अघि बढिसकेका छन्, हाम्रामा अझै पनि सामानको गुणस्तरलाई लिएर उपभोक्ताबाट बेलाबेलामा प्रश्नहरू उठिरहेका हुन्छन्, किन यस्तो भइरहेको छ ?
हामीले गुणस्तरीय सामानमा विशेष ध्यान दिएका छौंं । बिजुलीका तारहरूलगायत सामान गुणस्तर तथा नापतौल विभागबाट गुणस्तर जाँच गरेर आउँछन् । यसले गर्दा गुणस्तरमा त्यस्तो धेरै कमजोरी छ जस्तो मलाई लाग्दैन । त्यस्तो भेटिएको खण्डमा हामी तुरून्त सच्याएर अघि बढेको अवस्था छ ।
लगानीको हिसाबले अहिले बैंक तथा वित्तीय क्षेत्रबाट कर्जा प्रवाह हुन सकेको छैन, ब्याजदर एकल अंकमा झरेको छ, तर पनि यो क्षेत्रमा लगानी बढाउन चाहिरहनुभएको देखिन्न, तपाईंहरूलाई अहिले लगानी बढाउन के कुराले रोकिरहेको छ ?
अहिले घर निर्माणको काम सुस्त छ । निर्माण सुस्त भएपछि लगानी बढाउन सक्ने अवस्था छैन । सरकारले चालु आर्थिक वर्षको बजेटमा पनि सरकारी भवन निर्माणदेखि अन्य विभिन्न भवन निर्माण त्यति प्राथमिकतामा राखेन । त्यसको असर हामीलाई परेको छ । हेर्दा सामान्य लाग्छ तर सानासाना कुराले हाम्रो व्यापारमा धक्का पुगेको हुन्छ । त्यही भएर पनि यो समयमा लगानी गर्न सक्ने अवस्था छैन । लगानी बढाउने भन्दैमा ल्याएर ‘स्टोर’ गरेर राख्ने कुरा पनि आउँदैन ।
सरकारले तपाईंहरूलाई लगानी गर्नुस्, हामी कहाँ सहयोग गर्नुपर्छ तयार छौं भनिरहेको अवस्था छ । खास तपाईंहरूको समस्या के हो ? सरकारबाट समस्या समाधानका लागि पहल भइरहेको छ कि छैन ?
हामीले सरकारलाई पटकपटक भनेका छौं, विदेशबाट आयात गरिने सामानहरूमा भन्सारमा लाग्ने करमा केही सहुलियत दिए मात्र पनि हामीलाई राहत हुन्थ्यो । तर, अवस्था त्यस्तो छैन । अहिले लगानी बढाउन सक्ने अवस्था नै छैन । गत वर्षको तुलनामा तिहारको बत्तीको व्यापार आधाभन्दा बढीले घटेको अवस्था छ ।
यस वर्षको मेलामा स्वदेशी र विभिन्न १० भन्दा बढी देशका उत्पादन प्रदर्शनीमा राखिँदै छन् । प्रदर्शनमा विदेशी उत्पादनहरूसमेतको सहभागिताले हामीलाई कस्तो खालको सहयोगी भूमिका खेल्छ ?
यो मेलालाई हामीले एकअर्काको सीप र प्रविधिलाई अवलोकन गर्ने र विदेशी सामानहरू पनि नेपालमा कस्ता छन् भनेर अवलोकन गर्ने र अनुभवलाई साटासाट गर्ने थलोको रूपमा लिएका छौं ।
अहिले पुनर्निर्माणका कामहरू सुस्त छन्, यसको प्रभावले यो क्षेत्रलाई कस्तो असर परेको छ ?
सबैभन्दा ठूलो असर नै अहिले यसमै परेको छ । भवन निर्माणका कामहरू सुस्त अवस्थामा छन् । हाम्रो मुख्य व्यापार हुने भनेकै घर निर्माणमा हो । अहिले मन्दीले पर्याप्त निर्माण हुन सकेको छैन । किनभने भवन बनाउने पनि मन्दीमै छ । उसले पनि कर्जा ल्याउन सक्ने अवस्था छैन । अर्को समस्या भनेको केही पहिला एउटै घरका परिवार सदस्य ७/८ जना हुन्थे, उनीहरू छुट्टिन्थे र नयाँ घर बनाउथे । तर, अहिले सन्तान नै कम जन्माउँछन्, भएका युवा पनि विदेश पलायनको बाटोमा छन् । यसले यो व्यवसाय संकटको अवस्थामा पुगेको छ ।
FACEBOOK COMMENTS