काठमाडौं । सामाजिक सञ्जालको क्षेत्रमा अग्रणी प्लेटफर्म टिकटक र विश्व फुटबलको सर्वोच्च निकाय फिफाबीच एक ऐतिहासिक विश्वव्यापी साझेदारी भएको छ।
यस सम्झौतासँगै टिकटक फिफाको इतिहासमै आजसम्मकै पहिलो ‘रुचाइएको प्लेटफर्म’ बनेको छ। सन् २०२६ को अन्त्यसम्म कायम रहने यो साझेदारीले फिफा विश्वकप २०२६ को कभरेजलाई नयाँ उचाइमा पुर्याउने र समर्थकहरूलाई खेलको अझ नजिक ल्याउने लक्ष्य राखेको छ।
यस सहकार्यमार्फत समर्थकहरूले टिकटकमा ‘इमर्शिभ फिफा विश्वकप २०२६ हब’ मार्फत प्रतियोगिताका रोमाञ्चक सामग्रीहरू हेर्न पाउनेछन्।
‘टिकटक गेमप्लान’’ द्वारा सञ्चालित यस हबमा ४८ टिम सहभागी हुने विश्वकपका लाइभ खेलका अलावा पर्दा पछाडिका दृश्यहरू खेलको टिकट र प्रसारण सम्बन्धी जानकारी, तथा कस्टम स्टिकर र फिल्टर जस्ता इन्टरएक्टिभ सुविधाहरू उपलब्ध हुनेछन्।
यो साझेदारी सन् २०२३ को महिला विश्वकपमा टिकटक र फिफाबीच भएको सफल सहकार्यको निरन्तरता हो, जसले डिजिटल माध्यममा खेलको लोकप्रियतालाई थप प्रमाणित गरेको थियो।

फिफाका महासचिव माटियास ग्राफस्ट्रोमले विश्वभरका धेरैभन्दा धेरै समर्थकहरूसम्म विश्वकपको उत्साह पुर्याउन टिकटक सबैभन्दा उपयुक्त माध्यम भएको बताउनुभएको छ। त्यस्तै, टिकटकका ग्लोबल हेड अफ कन्टेन्ट जेम्स स्टाफोर्डले फुटबलको बढ्दो लोकप्रियतालाई ध्यानमा राख्दै ९० मिनेटको खेल बाहेक पनि समर्थकहरूलाई विशेष कन्टेन्ट र क्रिएटर पहुँचमार्फत अभूतपूर्व अनुभव प्रदान गर्न पाउँदा उत्साह व्यक्त गर्नुभएको छ।

यस पटक फिफा र टिकटकले पहिलो पटक व्यवस्थित विश्वव्यापी क्रिएटर कार्यक्रम पनि सुरु गर्नेछन्। यस कार्यक्रम अन्तर्गत छनोट भएका कन्टेन्ट क्रिएटरहरूले प्रेस कन्फरेन्स र ट्रेनिङ सेसनहरूमा सिधै पहुँच पाउनेछन्।

साथै, उनीहरूले फिफाको ऐतिहासिक फुटेजहरू प्रयोग गरेर नयाँ सामग्रीहरू सिर्जना (सह–सिर्जना) गर्न सक्नेछन्, जसले विश्वकप हेर्ने र अनुभव गर्ने दृष्टिकोणलाई अझ रोचक र फरक बनाउने विश्वास गरिएको छ।

टिकटक छोटो स्वरूपको भिडियोका लागि विश्वकै अग्रणी प्लेटफर्म हो, जसले सिर्जनशीलतालाई प्रेरित गर्ने र मानिसहरूमा खुसी फैलाउने उद्देश्य राखेको छ।

लस एन्जलस, लन्डन, सिंगापुर र टोकियो लगायत विश्वका प्रमुख सहरहरूमा कार्यालय रहेको टिकटकले यस साझेदारीमार्फत खेलकुद र प्रविधिको फ्युजनबाट नयाँ फ्यान अनुभव सिर्जना गर्ने लक्ष्य लिएको छ।
FACEBOOK COMMENTS