काठमाडौं । साउन १६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक गरिएको छ ।
रामचन्द्र काफ्लेको स्वर र संगीत तथा साहित्यकार अमर न्यौपानेको शब्दमा तयार गरिएको यस गीतले वैदेशिक रोजगारीमा गएका नेपाली युवाहरूको पीडा र भावनात्मक अवस्थालाई मार्मिक ढंगले प्रस्तुत गरेको छ ।
गीतको भिडिओमा विदेशमा कार्यरत नेपाली युवाहरूले भोग्नुपरेको शारीरिक तथा मानसिक यातना, बन्धक बनिएपछिको पीडादायी अवस्था र घर–परिवारको सम्झनालाई प्रभावशाली रूपमा देखाइएको छ । चलचित्रले वैदेशिक श्रम जीवनको यथार्थलाई उजागर गर्ने प्रयास गरेको छ, जसको झल्को यो गीतबाटै पाइन्छ ।
चलचित्रले ती देशहरूमा श्रम गर्न गएका नेपालीहरूको वास्तविकता चित्रण गर्ने उद्देश्य राखेको छ ।
विभोर पोखरेलको निर्देशनमा बनेको यस चलचित्रमा प्रमोद चौलागाईं, नीता ढुङ्गाना, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी, सीमा केसी, सन्दीप तामाङ, सुवास थापा मगर, विशाल थापा लगायत कलाकारहरूको अभिनय रहेको छ ।
प्रदीप भारद्वाजको लेखन तथा गगनलाल प्रधानको निर्माण रहेको चलचित्रले नेपाली समाजको एक गम्भीर यथार्थलाई पर्दामा उतार्ने अपेक्षा गरिएको छ ।
हेर्नुहोस् गीत–
FACEBOOK COMMENTS