काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले संघका निर्वतमान अध्यक्ष दिनेश सिटौलाको उपचार भइरहेको जानकारी दिएको छ ।
अध्यक्ष समीर बलामीले विज्ञप्ति जारी गर्दै सिटौलाको स्वास्थ्य अवस्थाबारे सामाजिक सञ्जालमा भ्रम फैलाउने काम भएको भन्दै संघले त्यस्ता सूचनाको पछाडि नलाग्नेसमेत सबैलाई आग्रह गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहको चुनावी अभियानमा सहभागी हुन अछाम पुगेका सिटौला यात्राको क्रममा एक्कासि बेहोस भएका थिए । त्यसपछि उनलाई स्थानीय अस्पतालमा सामान्य उपचार गरी हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो । र, अहिले ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ ।
उपचारमा संलग्न चिकित्सकहरूका अनुसार उनलाई मस्तिष्कघातका कारण स्वास्थ्य समस्या देखिएको हो । हाल उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै छ ।
संघले भनेको छ:

चलचित्र पत्रकार संघ नेपालका निर्वतमान अध्यक्ष एंव संघका सल्लाहकार तथा करिब दुई दशकदेखि चलचित्र पत्रकारितामा निरन्तर सक्रिय रहँदै आउनुभएका दिनेश सिटौलाको स्वास्थ्य उपचारको विषयलाई लिएर विभिन्न टिप्पणी, आधारहीन समाचार, भ्रामक र मिथ्या सूचनाहरू सार्वजनिक भइरहेका छन् । यसप्रति चलचित्र पत्रकार संघ नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।

इमानदार, अनुशासित, सरल स्वभावका तथा सबैसँग सहज र सुमधुर सम्बन्ध राख्ने पत्रकारका रूपमा परिचित दिनेश सिटौला आजसम्म कसैसँग व्यक्तिगत वा व्यावसायिक रुपमा विवादमा नरहेको, सबैको प्रिय पात्र हुनुहुन्छ । उहाँले पत्रकारिताको क्षेत्रमा पुर्याएको योगदान सबैमा सर्वविदित छ ।

रास्वपाका वरिष्ठ नेता बालेनप्रति शुभेच्छा प्रकट गर्न साथीहरूसँगै अछाम यात्रामा रहँदा, यात्राकै क्रममा एक्कासि ढलेर बेहोस हुनुभएपछि उहाँलाई तत्काल स्थानीय अस्पतालमा आकस्मिक उपचार गरिएको थियो । त्यसपछि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याई ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा थप उपचार भइरहेको छ ।

उपचारमा संलग्न चिकित्सकहरूका अनुसार उहाँलाई मस्तिष्कघातका कारण स्वास्थ्य समस्या देखिएको हो । हाल उहाँको स्वास्थ्य अवस्था सुधार गर्ने प्रयासस्वरूप भेन्टिलेटरमा राखी निरन्तर निगरानीमा उपचार भइरहेको छ ।

यही सन्दर्भलाई लिएर विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा तथ्यविहीन, अस्पष्ट र भ्रामक समाचार तथा टिप्पणीहरू आइरहेकोप्रति संघ चिन्तित छ । उपचार सुरु भएको २४ घण्टा पुगेको अवस्थामा अस्पतालको आधिकारिक धारणा बाहिर ल्याउन संघले माग गरेका छौं । चिकित्सकहरूका अनुसार भोलि माघ १८ गते बिहान ७ बजेसम्म थप स्पष्ट जानकारी आउने अपेक्षा गरिएको छ ।
त्यसैले अस्पतालको आधिकारिक धारणा नआएसम्म कुनै पनि किसिमका अड्कलबाजी, अफवाह तथा आधारहीन समाचार प्रकाशन–प्रसारण नगर्न, नगराउन चलचित्र पत्रकार संघ नेपाल सम्बन्धित सबै सञ्चार माध्यम, पत्रकार साथीहरू तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूमा हार्दिक अपिल गर्दछ ।
चलचित्र पत्रकार संघ नेपाल, आफ्ना निर्वतमान अध्यक्ष एंव सल्लाहकार दिनेश सिटौलाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै, सबैलाई संयम, जिम्मेवारी र पत्रकारिताको आचारसंहिताको पालना गर्न पुन: आग्रह गर्दछ ।
FACEBOOK COMMENTS