काठमाडौं । बलिउड चलचित्र ‘सैयारा’ ले बम्पर कमाई गरिरहेको छ ।
अहान पाण्डेको डेब्यू चलचित्र ‘सैयारा’ घरेलु बक्स अफिसमा कमाईको सुनामी ल्याएको विश्लेषण भइरहेका बेला रिलिजको चार दिनमा नै चलचित्र सय करोड क्लबमा प्रवेश गरेको छ ।
चलचित्रले रिलिजको चौथो दिन सोमबार घरेलु बक्स अफिसमा २४ करोड २५ लाख कमाई गरेको छ । बलिउड चलचित्र विश्लेषक तरण आदर्शले चार दिनमा चलचित्रले १०८ करोड ७५ लाख कमाई गरेको छ ।
यस अघि चलचित्रले पहिलो दिन शुक्रबार २२ करोड, दोस्रो दिन शनिबार २६.२५ करोड र आइतबार ३६ करोड २५ लाख कमाएको थियो ।
यो अभिनेत्री अनित पड्डाको पहिलो चलचित्र पनि हो ।आदित्य चोपडा र अक्षय विधानीद्वारा निर्मित यस चलचित्रलाई मोहित सुरीले निर्देशन गरेका हुन् । यस चलचित्रको पटकथा रोहन शंकर र संकल्प सदानाले लेखेका हुन् । दर्शकहरूले चलचित्रको कथा धेरै मन पराएका छन् ।
चलचित्रको रिभ्यु पनि निकै राम्रो रहेको छ । बलिउड चलचित्र विश्लेषक तरण आदर्शले यस चलचित्रलाई साढे ४ रेटिङ दिएका छन् । उनले बलिउडको रोमान्सलाई फिर्ता ल्याएको टिप्पणी गरेका छन् ।
यस चलचित्रलाई यस अघिका चलचित्र आशिकी र आशिकी–२ सँग तुलना गरिएको छ । यस अघि ‘आशिकी २’, ‘वो लम्हे’, ‘जेहर’ र ‘एक खलनायक’ जस्ता भावनात्मक प्रेमकथाहरू प्रस्तुत गरिसकेका चलचित्र निर्माता मोहित सुरीले फेरि एकपटक यशराज चलचित्रससँग मिलेर भावनात्मक प्रेम कथामा नयाँ चलचित्र ल्याएका छन् ।
चलचित्र करिब ६० करोडको बजेटमा बनेको बताइएको छ ।
FACEBOOK COMMENTS