काठमाडौं, १२ असोज –सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिएसँगै सत्ता गठबन्धन आबद्ध दल मन्त्रिपरिषद् विस्तारमा जुटेका छन् ।
अध्यादेश फिर्ता भएसँगै दलहरूबीच मन्त्रालय भागबन्डाबारे सहमति भएको हो । सहमतिअनुसार गठबन्धन आबद्ध नेपाली कांग्रेसले सात मन्त्रालय लिनेछ । यस्तै, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) ले ६–६ मन्त्रालय लिने सहमति बनेको छ ।
सरकार विस्तारको तयारी भइरहेका बेला नेकपा (एकीकृत समाजवादी) ले गठबन्धन सरकारमा पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूको नाम टुंग्याएको छ ।
स्रोतका अनुसार आइतबारको गठबन्धन बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो तर्फबाट सूची बुझाएका हुन् । नेकपा एसका एक नेताले विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले र जीवनराम श्रेष्ठ र भवानी खापुङ / किसान श्रेष्ठमध्ये एकलाई पठाउने तयारी भएको बताएका छन् ।
सरकारमा जाँदा विरोध खतिवडाले नेतृत्व गर्ने भन्ने टुंगिए पनि पाउने मन्त्रालय भागबण्डा अझै टुंगिएको छैन । ती नेताले मन्त्रालयमा गठबन्धनबीच सहमति भएपछि मात्रै कसले कुन मन्त्रालय पाउने भन्ने विषय टुंगिनेछ ।
माओवादी केन्द्रको आज बसेको स्थायी समिति बैठकले चाँडो सरकार विस्तारका लागि पहल लिने निर्णय गरेको थियो ।
FACEBOOK COMMENTS