काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडलाई वित्तीय तथा आर्थिक अनुशासन कायम गर्दै खराब कर्जा असुलीमा विशेष ध्यान दिन निर्देशन दिएका छन् । नेपाल बैंक लिमिटेडको ९० औँ वार्षिकोत्सव समारोहको आज यहाँ उद्घाटन गर्दै उहाँले बैंकलाई अनुत्पादक क्षेत्रमा लगानी नगर्न पनि आग्रह गरे ।
नेपालको बैंकिङ क्षेत्रमा गौरवमय इतिहास बोकेको यस बैंकले सुशासनको उच्च मापदण्ड कायम गर्दै डिजिटल रूपान्तरणमार्फत सरल र सहज बैंकिङ सेवा उपलब्ध गराउनुपर्नेमा अर्थमन्त्री वाग्लेले जोड दिए । उनले नेपाल सरकारले वित्तीय क्षेत्र सुधारका लागि अघि सारेका तीन बुँदे कार्यसूची पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने बताए ।
बैंकको काम कारबाही पारदर्शी बनाई जनविश्वास कायम राख्न, संस्थागत कमजोरी सुधार गर्न तथा तथ्याङ्कको सुरक्षामा विशेष ध्यान दिनुपर्ने अर्थमन्त्री वाग्लेले बताए । आगामी दिनमा डिजिटल बैंकिङको विस्तार, लघु, साना तथा मझौला उद्यमलाई सहज वित्तीय पहुँच, हरित अर्थतन्त्रको प्रवर्द्धन तथा वित्तीय साक्षरता अभिवृद्धिमा बैंकले प्रभावकारी र नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा पनि उनले जोड दिए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले नेपालमा बैंकिङ इतिहासको सुरुआत गर्दै स्थापना भएको यस बैंकले बचत संस्कृतिको विकास, आर्थिक स्रोत परिचालन र पुँजी निर्माणका साथै मुलुकको औद्योगिक तथा व्यापार व्यवसायको विकास र विस्तारमा उल्लेखनीय योगदान पुर्याएको बताए ।
उनका अनुसार बैंकको चुक्ता पुँजी १४ अर्ब ६९ करोड रुपैयाँ, निक्षेप चार खर्ब १६ अर्ब रुपैयाँ र कर्जा दुई खर्ब ६२ अर्ब रुपैयाँ रहेको छ । बैंकको निष्क्रिय कर्जा अनुपात ४.१८ प्रतिशत, ग्राहक सङ्ख्या २९ लाख २४ हजार र कर्मचारी सङ्ख्या तीन हजार ६०० रहेको छ ।

त्यसैगरी, बैंकका २५० वटा एटिएम सञ्चालनमा छन् भने मोबाइल बैंकिङका ग्राहक सङ्ख्या १० लाख पुगेको छ । बैंकले ७१ जिल्लामा शाखा विस्तार गरेको प्रमुख कार्यकारी अधिकृत पाण्डेयले जानकारी दिए ।
