काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा भएका पछिल्ला विपद् तथा सन् २०१५ को विनाशकारी भूकम्पका बेला भारतले गरेको सहयोगको प्रशंसा गरेका छन् ।
भारतको नयाँदिल्लीमा आयोजित एनडीटीभी वल्र्ड समिट २०२६ अन्तर्गत ‘अ वल्र्ड बिट्विन अर्डर्स’ सत्रमा बोल्दै अर्थमन्त्री वाग्लेले विपद्का बेला भारतले देखाएको तत्परता र सहयोगप्रति नेपाल आभारी रहेको बताएका हुन् ।
अर्थ मन्त्रालयका अनुसार, कार्यक्रममा भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करसँग प्रत्यक्ष संवाद गर्दै वाग्लेले नेपाल–भारत सम्बन्ध र क्षेत्रीय चासोका विषयमा छलफल गरेका थिए ।
उनले जलवायु परिवर्तनका कारण रसुवा र भोटेकोसी क्षेत्रमा हालै आएको विपद् तथा सन् २०१५ को विनाशकारी भूकम्पका बेला भारतले गरेको सहयोगको स्मरण गरे ।
‘नेपालको मन्त्रीको हैसियतमा म के भन्न सक्छु भने, हालैको विपद् र भूकम्प दुवै समयमा पहिलो केही घण्टामै भारत त्यहाँ उपस्थित थियो र हामीलाई असाधारण सहयोग गर्यो,’ उनले भने, ‘यसप्रति नेपाल अत्यन्तै आभारी छ ।’
अर्थमन्त्री वाग्लेले विपद् प्रतिकार्य, पोषण र स्वच्छ ऊर्जाजस्ता क्षेत्रमा नेपाल, भारतसहित अन्य मुलुकबीच द्विपक्षीय, त्रिपक्षीय तथा उपक्षेत्रीय सहकार्यलाई संस्थागत गर्न सकिने सम्भावनाबारे पनि प्रश्न उठाएका थिए ।

जवाफमा भारतीय विदेशमन्त्री जयशङ्करले सम्भव भएका क्षेत्रमा औपचारिक संस्थागत संरचनाको महत्त्व कायम रहेको बताए। उनले अन्तर्राष्ट्रिय सौर्य गठबन्धनलाई यसको उदाहरणका रूपमा प्रस्तुत गरे ।

यद्यपि, पछिल्लो समय समान सोच भएका मुलुकबीच आवश्यकताअनुसार सहकार्य गर्ने र ठोस नतिजा दिने पहललाई प्राथमिकता दिने प्रवृत्ति बढिरहेको पनि उनले बताए ।

कार्यक्रममा नेपाल–भारत सम्बन्धलाई थप प्रभावकारी बनाउने, क्षेत्रीय सहकार्य विस्तार गर्ने तथा विपद् व्यवस्थापन र स्वच्छ ऊर्जाजस्ता साझा चासोका क्षेत्रमा सहकार्यका सम्भावनाबारे छलफल भएको थियो ।