काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र बैंक तथा वित्तीय क्षेत्रका नियामक निकायका प्रमुखहरूबीच भेटघाट तथा छलफल भएको छ ।
सोमबार अर्थ मन्त्रालयमा भएको उक्त भेटघाटमा राजस्व सचिव भूपाल बरालको पनि उपस्थिति रहेको थियो । नियामक निकायका तर्फबाट नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल बीमा प्राधिकरणकी अध्यक्ष चन्द्रकला पौडेल र नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठ सहभागी भएका थिए ।
भेटघाटका क्रममा अर्थमन्त्री खनालले आफू अर्थमन्त्री रहँदा समष्टिगत आर्थिक स्थायित्व कायम राख्न, लगानीका लागि अनुकूल वातावरण बनाउन, पुँजी बजारलाई पारदर्शी तथा लगानीमैत्री बनाउन र आर्थिक सुशासन मजबुत पार्न नियामक निकायहरूले खेलेको भूमिकाप्रति धन्यवाद व्यक्त गरेका थिए ।
त्यस अवसरमा नियामक निकायका प्रमुखहरूले पनि अर्थमन्त्रीसँगको सहकार्य फलदायी रहेको स्मरण गर्दै बैंक तथा वित्तीय क्षेत्रको विकास र वित्तीय अनुशासन कायम गर्न अर्थ मन्त्रालयले अवलम्बन गरेका नीति तथा मार्गनिर्देशनप्रति आभार व्यक्त गरेका थिए।
FACEBOOK COMMENTS