काठमाडौं । पछिल्लो समय देशका विभिन्न स्थानमा डढेलो लाग्ने क्रम बढ्न थालेको छ । गर्मीयाम सुरु भएसँगै डढेलो तथा आगलागीका घटना पनि बढेको हो । नेपालमा आगलागीका घटना प्रायः वैशाखको दोस्रो साताबाट बढी हुने गरेको पाइन्छ ।
डढेलोका कारण सबैभन्दा बढी तराईका जिल्ला प्रभावित भएका छन् । कम जोखिम मानिने हिमाली जिल्लामा पनि डढेलो लागेको छ । पछिल्लो एक हप्तामा देशभर ३५ स्थानमा डढेलो लागेको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपत् पोर्टलको तथ्याङ्क अनुसार देशभर एक हप्तामा ३५ स्थानमा डढेलो लागेको छ भने १६५ वटा आगलागीका घटना भएका छन् । पुस महिनादेखि फागुन मसान्तसम्म तीन महिनाको अवधिमा १०६ स्थानका जङ्गलमा डढेलो लागेको तथ्याङ्क छ ।
पुसदेखि फागुन मसान्तसम्म मानवीय वा प्राकृतिक कारणले आगलागीका घटना भने धेरै भएका छन् । पछिल्लो तीन महिनामा डढेलोसहित मानवीय लापरबाही वा प्राकृतिक कारणबाट एक हजार ४९९ वटा आगलागीका घटना भएका छन् । आगलागीका कारण पुसदेखि फागुनसम्मको अवधिमा ६६ करोड ९४ हजार नौ सय रुपियाँ बराबरको क्षति भएको छ ।
डढेलोविद् सुनील शर्माले यस वर्ष अघिल्लो वर्षको तुलनामा धेरै डढेलेका घटना हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन जरुरी रहेको बताए । उनले भने, “गत वर्षको तुलनामा यस वर्ष धेरै डढेलोका घटना हुन सक्छन् । यो वर्ष तापव्रmम पनि बढेको र हिउँदको समयमा पर्याप्त मात्रामा पानी नपरेकाले डढेलोका घटना बढ्न सक्छन् ।”
पुस महिनादेखि फागुन मसान्तसम्म तीन महिनाको अवधिमा १०६ स्थानका जङ्गलमा डढेलो लागेको तथ्याङ्क छ । जोखिमयुक्त समय आउन बाँकी रहँदा देशका विभिन्न स्थानमा डढेलोका घटना बढ्न थालेपछि स्थानीय चिन्तित छन् । उनले भने, “यस वर्ष तापव्रmम पनि बढी भयो । हिउँदमा पर्याप्त मात्रामा पानी पर्न सकेन । त्यसैले जङ्गलमा पातपतिङ्गर धेरै थुप्रिएरका हुन सक्छन् । त्यस कारण डढेलोको प्रकोप धेरै हुने देखिन्छ ।”
डढेलो रोकथामका लागि बजेट विनियोजन नगरिनु दुःखद भएको डढेलोविज्ञ शर्माको टिप्पणी छ । संविधानले नै विपत् व्यवस्थापन स्थानीय तहको अधिकार भएकाले स्थानीय तहले पर्याप्त मात्रामा बजेट छुट्याउनुपर्ने उनको सुझाव रहेको आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS