काठमाडौं । नेपालको व्यवसायिक पारिस्थितिक प्रणालीलाई डिजिटल रूपमा सशक्त बनाउने उद्देश्यसहित नेपालमा पहिलो राष्ट्रिय व्यवसाय खोज मञ्च ‘फाउन्डर्स नेपाल’ सार्वजनिक भएको छ । एभरेस्ट इन्जिनियरिङ कलेजका भुवन प्रसाद जोशीको अवधारणामा विकसित यस मञ्चले साना, मझौला तथा ठूला सबै प्रकारका व्यवसायलाई एउटै डिजिटल प्लेटफर्ममा ल्याई उनीहरूको पहुँच विस्तार र बजार प्रवद्र्धनमा सहयोग गर्ने लक्ष्य लिएको छ ।
नेपालमा रेस्टुरेन्ट, क्याफे, कपडा पसल, कृषि उत्पादन, स्टार्टअप तथा सेवा क्षेत्रका व्यवसायहरू प्रशस्त भए पनि ग्राहकसम्म सहज रूपमा पुग्न नसक्ने, सामाजिक सञ्जालमा सीमित प्रचार हुने तथा केन्द्रीय व्यवसाय खोज प्रणालीको अभावजस्ता समस्याले व्यवसायीहरू प्रभावित हुँदै आएका छन् ।
हाल व्यवसाय प्रवद्र्धनका लागि फेसबुक, इन्स्टाग्राम र लिंक्डइन प्रयोग भइरहे पनि ती प्लेटफर्महरू व्यवसाय खोजका लागि व्यवस्थित र लक्षित नभएकाले प्रभावकारी नतिजा नआएको व्यवसायीहरूको गुनासो छ ।
यही आवश्यकतालाई मध्यनजर गर्दै सुरु गरिएको ‘फाउन्डर्स नेपाल’ कुनै साधारण वेबसाइट नभई व्यवसायिक वृद्धि प्लेटफर्म रहेको आयोजकको दाबी छ। यस प्लेटफर्ममार्फत विभिन्न क्षेत्रका व्यवसायलाई एकै स्थानमा संरचित र व्यवस्थित रूपमा प्रस्तुत गरिनेछ ।
मञ्चमा रेस्टुरेन्ट तथा क्याफेहरूले नयाँ मेनु, विशेष अफर र ब्रान्ड स्टोरी प्रस्तुत गर्न सक्नेछन् भने फेसन तथा कपडा व्यवसायले आफ्ना नयाँ कलेक्सन प्रदर्शन गर्न सक्नेछन् ।
त्यस्तै, टेक स्टार्टअपले एप, सफ्टवेयर तथा डिजिटल सेवाको जानकारी, कृषि व्यवसायले जैविक उत्पादन र परियोजना विवरण, सेवा क्षेत्रले परामर्श, डिजाइन र मार्केटिङ सेवा तथा खुद्रा व्यवसायले उत्पादन खरिद–बिक्रीका अवसर प्रस्तुत गर्न सक्नेछन् ।
FACEBOOK COMMENTS