विराटनगर । विराटनगरस्थित सिङ्घिया नदीमा नयाँ प्रजातिको माछा फेला परेको छ । अनुसन्धानकर्ताले नेपालमै पहिलो पटक यस्तो प्रजातिको माछा भेटिएको दाबी गरेका छन् ।
झापा र मोरङका पाँच नदीमा गरिएको खोज अनुसन्धानका क्रममा विराटनगरको पूर्वी सिमाना भएर बग्ने सिङ्घियाको तल्लो तटीय क्षेत्रमा नयाँ माछा ‘एम्ब्लिसेप्स वाइखोमी’ फेला परेको हो ।
अनुसन्धानकर्ताहरूले २०७८ मङ्सिरदेखि २०७९ असोजसम्म कोशी प्रदेशका दुई जिल्लामा बग्ने पाँच नदीमा अनुसन्धान गरेका हुन् । विराटनगरका अनुसन्धानकर्ताहरू जसहाङ लिम्बू, दीपक राजवंशी, भरतराज सुब्बा, अस्मित सुब्बा तथा विदेशीहरू जिनक्वान याङ र चेनहोङ लीको समूहले सिङ्घियाको तल्लो भाग जहदा पुल र बुधनगर गरी दुईवटा अध्ययन बिन्दुमा नयाँ प्रजातिको माछा फेला परेको दाबी गरेको छ ।
यो माछा नेपालका लागि नयाँ रेकर्ड भन्दै अमेरिकाबाट प्रकाशित इन्टरनेसनल जर्नल अफ जुलोजीको २०२३ अप्रिलको अङ्कमा प्रकाशित छ । अनुसन्धानकर्ताहरूका अनुसार एम्ब्लिसेप्स वाइखोमी प्रजातिको माछा दक्षिण एसियातिर विरलै पाइने आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS