काठमाडौं । विश्वको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता टोकियो ओलम्पिक २०२१ आज शुक्रबारदेखि आधिकारिक रूपमा शुरू भएको छ । जापानको राजधानी टोकियोस्थित ओलम्पिक स्टेडियममा विशेष कार्यक्रमका बीच टोकियो ओलम्पिक औपचारिक रुपमा शुरू गरिएको हो ।
यस महाकुम्बमा विश्वका २०६ देशका ११,२३८ एथलिटहरु सहभागी हुँदै छन् । ओलम्पिकमा सहभागिता जनाउने देशहरुको संख्या संयुक्त राष्ट्र संघमा आवद्ध देशहरु भन्दा बढी छ । हाल संयुक्त राष्ट्र संघका १९३ सदस्य राष्ट्रहरु छन् ।
नेपाली समय अनुसार अपरान्ह ४ः४५ बजे उद्घाटन समारोह भएको थियो । उद्घाटन समारोहमा खेलाडीको मार्च पाससहित विभिन्न कार्यक्रमहरू गरिएका छन् ।
३२औं समर ओलम्पिक आजदेखि औपचारिक रुपमा शुरू गरिए पनि फुटबल र ह्यान्डबल लगायतका खेलहरु २१ जुनदेखि नै भइरहेका छन् । विश्व खेलकुदको महाकुम्बमा यस पटक नेपालबाट चार खेलका पाँच एथलिटहरुले प्रतिस्पर्धा गर्दै छन् ।
नेपालबाट युनिभर्सियालिटी प्लेस अन्तर्गत पौडीबाट गौरिका सिंह र एलेक्स शाह तथा एथ्लेटिक्सबाट सरस्वती चौधरीले प्रतिस्पर्धा गर्ने छन् । यस्तै वाइल्ड कार्डबाट सुटिङकी कल्पना परियार र जुडोका सोनिया भट्टले ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्दै छन् ।
नेपालका लागि गैरिकाले दोस्रोपटक तथा एलेक्स, सरस्वती, कल्पना र सोनियाले पहिलोपटक ओलम्पिकमा सहभागिता जनाउन लागेका हुन् । २०१६ रियो ओलम्पिकमा सहभागिता जनाएकी गौरिका प्रतियोगिताकै सबैभन्दा कान्छी खेलाडी बनेकी थिइन् ।
ओलम्पिकका लागी पौडी, सुटिङ र जुडोका खेलाडीहरु जापान पुगिसकेका छन् । एथ्लेटिक्स टोली २४ जुलाईमा जापान प्रस्थान गर्ने छन् । अन्य संस्करण जस्तै यस पटक पनि नेपाल ओलम्पिक कमिटी, सम्बन्धित खेलका संघ र खेलाडीहरुले पदकका लागि भन्दा पनि राष्ट्रिय कीर्तिमान स्थापित गर्ने, व्यक्तिगत प्रदर्शन सुधार गर्न र अघिल्लो किर्तिमानमा सुधार गर्ने लक्ष्यसहित टोकियो ओलम्पिकमा सहभागिता जनाएका छन् ।
ओलम्पिकका खेलहरु शुरु भईसके पनि नेपालले सहभागिता जनाउने खेलहरू जुलाई २४ देखि शुरू हुने छन् । जुलाई २४ मा नेपालका लागि महिला ४८ केजीमुनि जुडोमा सोनिया भट्ट र महिला १० मिटर एयर राइफलमा कल्पना परियारले प्रतिस्पर्धा गर्ने छिन् ।
नेपालकी जुडो एथलिट सोनिया भट्टले पहिलो चरणमा रसियाकी डोल्गोभा इरिनासँग प्रतिस्पर्धा गर्ने भएकी छिन् । जुडोका खेलहरु बिहान ७ः४५ बजेदेखि शुरू हुने छन् भने महिला १० मिटर एयर राइफल बिहान ५ः१५ बजेदेखि शुरू हुने छ ।
सोनियाले पहिलो चरण पारे गरे यसै दिन अन्य चरणमा प्रतिस्पर्धा गर्ने छिन् । १० मिटर एयर राइफलको सबै चरणका खेलहरु साही साझ आयोजना हुने छन् ।
२७ जुलाईमा नेपाली पौडी खेलाडी एलेक्स शाहले पुरुष १०० मिटर फ्रिस्टाइलको हिट चरणमा प्रतिस्पर्धा गर्ने छन् । यो स्पर्धा दिउँसो ३ः४५ बजेपछि शुरू हुने छ । हिट चरण पार गर्न सकेमा एलेक्सले २८ जुलाईमा अर्को चरणमा प्रतिस्पर्धा गर्ने छन् । त्यसमा पनि सफल भए उनले २९ जुनमा फाइनल चरणमा प्रतिस्पर्धा गर्ने छन् ।
यस्तै २८ जुलाईमा गौरिका सिंहले महिला १०० मिटर फ्रिस्टाइलको हिट चरणमा चरणमा प्रतिस्पर्धा गर्नेछिन् । उनको खेल दिउँसो ३ः४५ बजेपछि शुरू हुनेछ । हिट चरणपछि २९ र ३० जुलाईमा यस स्पर्धाका बाँकी चरणहरु खेलिने छन् ।
जुलाई ३० मा एथ्लेटिक्स खेलाडी सरस्वती चौधरीले महिला १०० मिटर दौडमा प्रतिस्पर्धा गर्नेछिन् । १०० मिटर ढौड विहान ९ बजेपछि शुरू हुने छ । हिट चरण पार गरे जुलाई ३१ मा महिला १०० मिटर दौडका बाँकी चरणका प्रतिस्पर्धा हुने छ ।
FACEBOOK COMMENTS