काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले तोकिएको गुणस्तर मापदण्ड पूरा नगर्ने ५ उद्योगलाई कारबाही गरेको छ । विभागले ३ सिमेन्ट उद्योगसहित ५ उद्योगले उत्पादन गरेको वस्तुमा गुणस्तर मापदण्ड नपुगेको भन्दै कारबाही गरेको हो ।
कारबाहीमा पर्ने सिमेन्ट उद्योगहरुमा मारुती सिमेन्ट, सिराह, युनाइटेड सिमेन्ट, धादिङ, जगदम्बा सिमेन्ट, रुपन्देही, जानकी केबल, धनुषा र श्री ग्यास वान नेपाल बारा रहेका छन् ।कारबाहीमा परेको सिमेन्ट उद्योगहरुलाई सम्बन्धित ब्याचको सम्पूर्ण उत्पादन बजारबाट फिर्ता लैजान र १५ दिनभित्र स्पष्टीकरण पेश गर्न विभागले निर्देशन दिएको छ ।
विभागले सिराहाको मिर्चैयामा सञ्चालित मारुतीको ओपिसी ४३ ग्रेडको सिमेन्टको विक्री वितरण रोक्न निर्देशन दिएको छ । मारुती सिमेन्टको सङ्कलित नमूनाको ७ र २८ दिनको कम्प्रेसिभ स्ट्रेन्थको मान क्रमशः न्यूनतम ३३ र ४३ हुनुपर्नेमा ३१ र ३७ देखिएको विभागले जनाएको छ ।
त्यस्तै, धादिङमा संचालित युनाइटेडको ओपिसी ५३ ग्रेडको विक्री वितरण रोक्न निर्देशन दिएको छ । युनाइटेडबाट सङ्कलित नमूनाको ७ र २८ दिनको कम्प्रेसिभ स्ट्रेन्थको मान कम्तीमा १६ र २२ हुनुपर्नेमा १५ र २० देखिएको विभागले बताएको छ ।
त्यस्तै, विभागले रुपन्देहीको जगदम्बा सिमेन्टको पनि विक्री वितरण रोक्न निर्देशन दिएको छ । जगदम्बाको संकलित नमूनाको ३ र ७ दिनको कम्प्रेसिभ स्ट्रेन्थको मान कम्तीमा १५ र २० हुनुपर्नेमा १६ र २२ पाइएको विभागले बताएको छ ।
त्यसैगरी, विभागले धनुषास्थित जानकी केबल इन्डस्ट्रीलाई पनि कारबाही गरेको छ । जानकी केबलको सङ्कलित नमूनाको ओभरअल डाइमिटर, स्ट्र्यान्ड डाइमिटर र कन्डक्टर रेसिस्टेन्सको मान नेपाल गुणस्तर बमोजिम नभएको विभागले बताएको छ ।
विभागले बाराको श्री ग्यास वान नेपाललाई पनि मापदण्ड नपुगेको अभियोगमा कारबाही गरेको छ । श्री ग्यासले सेफ्टी क्याप नलाएको, टेर वेट नलिएको, पर्जिङ मेसिन प्रयोगमा नल्याएको र सीभीटी मेसिन नभएको ठहर विभागले गरेको छ ।
FACEBOOK COMMENTS