मोदीखोलामा बाढी, सतर्कता अपनाउन आग्रह
कर्पोरट खबर
9:25 pm, आइतबार, असार २८, २०८३
- मोदीखोलामा भारी वर्षाका कारण बाढी आउँदा कास्की र पर्वत क्षेत्रमा क्षति पुगेको छ।
- बाढीको जोखिमका कारण मोदीखोलामा सञ्चालित चारवटै जलविद्युत् आयोजनाले उत्पादन बन्द गरेका छन्।
पर्वत । कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा भारी वर्षाका कारण बाढी आएको छ । आज बिहानैदेखि भारी वर्षा भइरहेकाले कास्कीको अन्नपूर्ण गाउँपालिका-११ किम्रुङमा बाढी आउनुका साथै वर्षाका कारण विभिन्न ठाउँमा पहिरो जाँदा मोदीखोलाको बहाव अत्यधिक बढेको हो ।
बाढीले कास्की क्षेत्रका विभिन्न स्थानमा क्षतिसमेत पु¥याएको छ । मोदीखोलामा दिउँसो ३ बजेदेखि पानीको सतह बढेपछि सतर्कता अपनाउन आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्वत, मोदी गाउँपालिकाले तटीय क्षेत्रमा रहेका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको हो ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले मोदीखोला किनारमा बसोबास गर्नेलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको बताए । उनले खोला किनारमा काठदाउरा निकाल्न, माछा छोप्न वा अन्य कुनै प्रयोजनका लागि नजिक नजानसमेत आग्रह गरे ।
यसैगरी मोदी गाउँपालिकाले पनि सामाजिक सञ्जालमार्फत आवश्यक सतर्कता अपनाउन सर्वसाधारणमा आग्रह गरेको छ । खोलामा अत्यधिक बहाव बढ्दा मोदीखोलामा सञ्चालित चारवटै विद्युत् गृहले उत्पादन बन्द गरेका छन् । मध्यमोदी, मोदीखोला, तल्लो मोदी र युनाइटेड मोदी जलविद्युत् आयोजनाले उत्पादन बन्द गरेका हुन् ।