काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि विभिन्न जलविद्युत् आयोजना तथा विद्युत् संरचनामा कार्यरत १९६ जना कर्मचारी तथा कामदार सम्पर्कविहीन रहेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ ।
प्राप्त विवरणअनुसार निर्माणाधीन त्रिशूली–३ बी आयोजनाको साइटमा कार्यरत त्रिशूली जलविद्युत् कम्पनीका २१ जना कर्मचारी सम्पर्कविहीन छन् । सोही आयोजनाको साइटमा चिलिमे जलविद्युत् कम्पनीअन्तर्गतको चेस्को कम्पनीमा कार्यरत थप ११ जना पनि सम्पर्कमा छैनन् ।
त्यस्तै, चिलिमे जलविद्युत् केन्द्रको विद्युतगृह क्षेत्रमा रहेका ६ जना तथा आवास क्षेत्र आसपासका एक जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ । त्रिशूली–३ ए जलविद्युत् केन्द्रको विद्युत्गृहमा मर्मत कार्यमा संलग्न ४५ जना कर्मचारी तथा कामदार समेत सम्पर्कविहीन छन् ।
त्यसैगरी, चिलिमे जलविद्युत कम्पनी अन्तर्गतको रसुवागढी जलविद्युत केन्द्रमा कार्यरत ९२ जना सम्पर्क विहिन रहेको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ ।
यसैगरी, नेपाल विद्युत् प्राधिकरणको त्रिशूली तथा देविघाट जलविद्युत् केन्द्रमा कार्यरत एक–एक जना कर्मचारी सम्पर्कविहीन छन् भने रसुवा वितरण केन्द्रअन्तर्गत चिलिमे विद्युत्गृहको स्विचयार्डमा कार्यरत एक जना तथा गोटागन्तीका मिटर रिडर पनि सम्पर्कमा नरहेको जनाइएको छ ।

त्यस्तै, त्रिशूली–२२० केभी, ३ बी हबमा ठेकेदार कम्पनीतर्फबाट कार्यरत १६ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ ।
बाढीका कारण प्रभावित क्षेत्रमा सञ्चार सम्पर्कसमेत प्रभावित भएकाले सम्पर्कविहीन रहेका सबैको अवस्था तत्काल यकिन हुन नसकेको जनाइएको छ । उनीहरूको खोजी तथा उद्धारको प्रयास भइरहेको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।