काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको वास्तविक कारण र घटनाक्रम पत्ता लगाउन उच्चस्तरीय वैज्ञानिक अध्ययन अघि बढाउने भएको छ ।
मन्त्रालयले हिमाली क्षेत्रमा बाढी उत्पन्न हुनुका भौगोलिक, हिमनदीय, जलविज्ञानसम्बन्धी कारण तथा जलवायु परिवर्तनको सम्भावित भूमिकाबारे अध्ययन गर्न विज्ञसहितको उच्चस्तरीय वैज्ञानिक समिति गठन गर्ने जनाएको छ । समितिले सोमबारदेखि काम अघि बढाउने मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यले बताएका छन् ।
जल तथा ऊर्जा आयोगको सचिवालयको प्रस्तावअनुसार भोटेकोशीको बाढीलाई सामान्य बाढी वा अतिवृष्टिका रूपमा मात्र नभई उच्च हिमाली क्षेत्रमा उत्पन्न विभिन्न जोखिम एकपछि अर्को जोडिएर विकसित भएको सम्भावित ‘श्रृङ्खलाबद्ध विपद्’ का रूपमा अध्ययन गरिनेछ ।
अध्ययन तीन चरणमा हुनेछ। पहिलो चरणमा उच्च हिमाली क्षेत्रदेखि भोटेकोशी–ल्हेन्दे नदी प्रणाली र तटीय क्षेत्रसम्मको घटनाक्रम तथा भौगोलिक क्षतिको अध्ययन गरिनेछ । दोस्रो चरणमा बाढीका तत्कालीन तथा अन्तर्निहित भौतिक कारण पहिचान गरिनेछ। तेस्रो चरणमा मानवजनित जलवायु परिवर्तनले जोखिमको सम्भावना र तीव्रतामा पारेको प्रभाव वैज्ञानिक रूपमा मूल्याङ्कन गरिनेछ ।
अध्ययनमा हिमनदी विज्ञान, भूगर्भशास्त्र, पहिरो विज्ञान, जलविज्ञान, मौसम तथा जलवायु विज्ञान, दूरसंवेदी प्रविधि र विपद् जोखिम व्यवस्थापनलगायत विभिन्न क्षेत्रका विज्ञलाई सहभागी गराइनेछ । आवश्यकताअनुसार अन्तर्राष्ट्रिय विज्ञसमेत सहभागी गराउने तयारी छ ।

भोटेकोशी–ल्हेन्दे नदी प्रणाली सीमापार क्षेत्रमा फैलिएको भएकाले चीनतर्फ उपलब्ध वैज्ञानिक तथा जलवैज्ञानिक सूचनासमेत अध्ययनमा समेटिनेछ। आवश्यक वैज्ञानिक सहकार्य र तथ्यांक आदानप्रदानका लागि संयन्त्र विकास गर्ने प्रस्ताव गरिएको छ । वैज्ञानिक समितिले बाढीको सम्भावित उद्गमस्थलको स्थलगत निरीक्षण गर्नुका साथै तस्वीर र भिडियो अभिलेख तयार गर्नेछ। आवश्यकताअनुसार ड्रोन तथा भूउपग्रहबाट प्राप्त विवरणसमेत प्रयोग गरिने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले समितिलाई अध्ययन पूरा गरी प्रतिवेदन बुझाउन दुई महिनाको समय दिने तयारी गरेको छ। अध्ययनबाट बाढीको वास्तविक उत्पत्ति, घटनाको क्रम र जलवायु परिवर्तनको सम्भावित भूमिकाबारे वैज्ञानिक प्रमाणमा आधारित निष्कर्ष निकालिने अपेक्षा गरिएको छ ।