काठमाडौं । अमेरिकाको टेक्सासमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ८१ पुगेको छ । सीएनएनका अनुसार मृत्यु हुनेमा २८ जना बालबालिका छन् ।
बाढीले केर काउन्टीमा मात्र ६८ जनाको मृत्यु भएको छ । ग्रीष्मकालीन शिविरका ११ जना बालिका अझै बेपत्ता छन् । उद्धार टोलीहरूले पहिलो ३६ घण्टामा ८५० भन्दा बढी मानिसहरूलाई उद्धार गरेको बताएका छन् ।
बाढीले मध्य टेक्सासका बान्डेरा, कोमल, कोन्चो, गिलेस्पी, केन्डल, केर, किमबल, लानो, मेसन, म्याककुलो, मेनार्ड, रिभ्स, सान साबा र टम ग्रीन क्षेत्र बढी प्रभावित रहेको बताइएको छ । त्यस्तै, टेक्सासमा अझै ठूलो वर्षाको पूर्वानुमान गरिएको मिडिया रिपोर्टमा उल्लेख छ ।
टेक्सास राज्य सरकारले अझै कम्तीमा ४१ जना बेपत्ता रहेको जानकारी दिएको छ । प्रशासनले बाढी प्रभावित क्षेत्रमा खोजी कार्य भइरहेको र अहिलेसम्म आठ सयभन्दा बढीको उद्धार गरिएको जनाएको छ ।
त्यस्तै, बेपत्ताको खोजीका लागि एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ ।
FACEBOOK COMMENTS