काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५, थामे गाउँमा गत शुक्रबार हिमताल विस्फोट भई आएको भीषण बाढीमा परी बेपत्ता भएको भनिएका एक व्यक्ति घरमै सकुशल भेटिएका छन् ।
प्रहरी अधिकारीका अनुसार उनी आइतबार आफ्नै घरमा सकुशल भेटिएका हुन् ।
बाढी आएपछि थामे गाउँका ५५ वर्षीय निमानुरू शेर्पा सम्पर्कविहीन भएका थिए । उनी बेपत्ता भएको ठानेर सुरक्षाकर्मीले तीन दिनदेखि उनको खोजी गरिरहेका थिए ।
तर, उनी थामेभन्दा माथिल्लो क्षेत्रमा रहेको उनको आफ्नै घरमा सकुशल भेटिएका हुन् ।
बाढीअघिसम्म देखिएका उनी बाढीपछि नदेखिएपछि स्थानीयले बेपत्ता भएको प्रहरीलाई जानकारी गराएका थिए । उनी बोल्न र सुन्न सक्दैनन् ।
बाढीपछि सो गाउँका स्थानीयहरू सुरक्षित स्थानमा स्थानान्तरण हुँदा उनी भने घरवरिपरि बाढीले पुरेपछि त्यहाँबाट निस्कन नसकेकाे हुन सक्ने अनुमान गरिएको छ ।
पर्यटकीय गाउँ थामे सोभन्दा माथिल्लो क्षेत्रको दुईवटा हिमताल फुटेर भीषण बाढी आएपछि खण्डहर भएको छ । बाढीले त्यहाँका होटल, विद्यालयको छात्रावास, स्वास्थ्य क्लिनिक, व्यक्तिगत घरसहित १७ वटा भौतिक संरचनामा पूर्ण क्षति गरेको छ ।
बाढीमा मानवीय क्षति भने हुन पाएन ।
FACEBOOK COMMENTS