काठमाडौं । नर्सरी व्यवसायी संघ नेपालले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको तेस्रो एक्स्पो ‘तिहार फ्लोरा एक्स्पो २०८२’ मा अवलोकर्ताको भिड देखिएको छ ।
स्वदेशी फूल उत्पादन, नर्सरी व्यवसायलाई प्रोत्साहन गर्ने, साथै तिहारमा स्वदेशी फूल प्रयोग गर्न सर्वसाधारणलाई उत्प्रेरित गर्ने लक्ष्यका साथ आयोजना गरिएको तिहार फ्लोरा एक्स्पोबाट प्रदर्शनकर्ताहरूले राम्रो व्यापार गरेर मनग्गे समेत गरिरहेका छन् ।
सामान्यत: एक्स्पोहरू व्यवसायीलाई आफ्नो सामान बेच्न सजिलो होस् र ग्राहकलाई पनि एकै स्थानमा कम समयमा धेरै थरीका वस्तु तथा सेवाको जानकारी प्रदान गर्न सकियोस् भन्ने उद्देश्यबाट आयोजना गर्ने गरिएका छन् । यसैक्रममा तिहार फ्लोरा एक्स्पो पनि तिहार पर्वलाई लक्षित गरी ग्राहकलाई एकै स्थानमा धेरै थरीका बोटविरुवा तथा फूलहरू उपलब्ध गराउने उद्देश्यले नै आयोजना गरिएको हो ।
बूढानीलकण्ठमा समृद्धि नर्सरी सञ्चालन गर्दै आएका नर्सरी व्यवसायी अनिल तामाङले यस्तो एक्स्पोहरूले व्यवसाय बढाउन सहयोग गर्ने गरेको बताए । ‘एक्स्पो आयोजना हुँदा व्यवसायीलाई मार्केटिङ गर्न सहज हुन्छ भने ग्राहकलाई पनि एकै स्थानमा धेरै थरीको फूल तथा बोटविरुवा किन्ने अवसर जुर्दा सहज भएको छ,’ उनले भने । अहिलेसम्म कतिको कारोबार भयो भन्ने यकिन नभए पनि व्यापार रामै्र भइरहेको अनिलले बताए ।
त्यसैगरी जोरपाटीबाट तिहार फ्लोरा एक्स्पो अवलोकन गर्न गएका गणेश सापकोटाले यस प्रकारको मेलामा एकै स्थानमा धेरै थरीका फूल तथा बोटविरुवा पाइने भएकाले आफू मेला अवलोकन थर्न आएको बताए । उनले भने, ‘प्रदर्शनीमा धेरैजसो सयपत्री र गोदावरी फूलहरू रहेछन् । जसले तिहारअगावै तिहार पर्व चलिरहेको झल्को दिएको छ । मन त्यसै आनन्दित भयो । यसरी प्रदर्शनीमा आउँदा अवलोकन गर्न पनि पाइने र आफूले खोजेको जस्तो फूलका विरुवा एकै स्थानमा पाइने हुँदा समयको बचत पनि हुने भयो । अनि सस्तोमा पनि पाइने ।’
यस एक्स्पोमा पुष्प, जडिबुटी, बोटविरुवा लगायत चार विधाका बोटविरुवा प्रदर्शनीमा राखिएको छ । त्यसैगरी ६२ वटा नर्सरी व्यवशायको स्टलमा सात जय भन्दा प्रजातीका फूल तथा बिरुवाहरू प्रदर्शनीमा राखिएकाका छन् । असोज २८ गतेदेखि सुरू भएको एक्स्पो आगामी कात्तिक १ गतेसम्म सञ्चालन हुने जानकारी आयोजकले दिएको छ ।
एक्स्पोमा २५ रूपैयाँदेखि एक लाख ५० हजार रूपैयाँसम्म पर्ने विरुवाहरू प्रदर्शन तथा बिक्रीवितरण भइरहेका छन् ।
FACEBOOK COMMENTS