काठमाडौं । स्वदेशी फूल उत्पादन, नर्सरी व्यवसायलाई प्रोत्साहन गर्ने, साथै तिहारमा स्वदेशी फूल प्रयोग गर्न सर्वसाधारणलाई उत्प्रेरित गर्ने लक्ष्यका साथ भृकुटीमण्डपमा तेस्रो तिहार फ्लोरा एक्स्पो भइरहेको छ ।
आगामी कात्तिक १ गतेसम्म सञ्चालन हुने एक्स्पोमा २५ रूपैयाँदेखि डेढ लाख रूपैयाँसम्मका विरुवाहरू प्रदर्शनीमा राखिएका छन् । जसले अवलोकनकर्ताहरूको ध्यान धेरै खिचेको आयोजक संस्था नर्सरी व्यवसायी संघ नेपालका अध्यक्ष रामजी तिमल्सिनाले बताए ।
उनका अनुसार यो एक्स्पोमा सबै भन्दा सस्तो २५ रूपैयाँदेखि सबै भन्दा महङ्गो एक लाख ५० हजार रूपैयाँसम्मका बिरुवाहरू प्रदर्शनीमा राखिएका छन् । डेढ लाख रूपैयाँसम्म पर्ने विरुवा बोनसाइ भएको उनले बताए । विशेषगरी २५ देखि ३० वर्षसम्म समय लगाएर हुर्काइएको बोनसाइ बिरुवा तुलनात्मक रूपमा महङ्गो हुने अध्यक्ष तिमल्सिनाको भनाइ छ ।
‘बोनसाइमा माटो कम हुन्छ, त्यसको स्याहार–सुसारमा धेरै मेहनत लाग्छ । त्यसैले वर्षौसम्म पालिएको बिरुवा महङ्गो हुनु स्वाभाविक हो, मसँग नै ३० वर्षको सल्लाको विरुवा रहेको छ,’ एक्स्पोको उद्देश्य र औचित्य प्रष्ट पार्दै उनले भने, ‘यस एक्स्पोले किसान, व्यवसायी र उपभोक्ताबीचको सिधा सम्बन्ध विस्तार गर्ने लक्ष्य राखेको छ ।’
नजिकिँदै गरेको तिहार पर्व फूलको पर्व भएकाले तिहारलाई लक्षित गरी एक्स्पो आयोजना गरिएको हो । जहाँ ६२ वटा स्टलमा विभिन्न थरीका फूल, बोटविरुवा र जडिबुटीका बिरुवा किन्न तथा अवलोकन गर्न सकिन्छ । अध्यक्ष तिमल्सिनाका अनुसार यसपटकको मेलामा सात सय भन्दा बढी फूलका जातहरू प्रस्तुत गरिएको छ । जसमा बोनसाइदेखि मौसमी फूलहरू, जडीबुटी बिरुवा, फलफूलका बिरुवा र वनस्पति समेत रहेका छन् ।
‘मंगलबार (असोज २८ गते) देखि कात्तिक १ गते (शनिबार) सम्म भृकुटी मण्डपमा सञ्चालन हुने एक्स्पोमा पुष्प, फलफूल, जडीबुटी र कृषि वन गरी चारवटा विधाका बिरुवाहरू अवलोकन गर्न पाइनुका साथै अवलोकनकर्ताको इच्छा र आवश्यकता अनुसार बिक्रीवितरणसमेत भइरहेको छ,’ अध्यक्ष तिमल्सिनाले भने ।
उनका अनुसार अवलोकनकर्ताको घरमा भएकोे बिरुवासम्बन्धी केही समस्या छ भने पनि त्यसको समाधानका उपायका लागि विज्ञहरूसँगको परामर्श सेवासमेत एक्स्पोले उपलब्ध गराएको छ ।
काठमाडौं, ललितपुर, भक्तपुरसहित इलाम र काभ्रेका व्यवसायीहरूले मेलामा सहभागिता जनाएका छन् । यद्यपि, चाडपर्वको व्यस्तता र मौसमका कारण धेरै जिल्ला बाहिरका नर्सरी व्यवसायीहरू सहभागिता जनाउन नसकेको आयोजकले जानकारी दिएको छ ।
FACEBOOK COMMENTS