बन्दीपुर (तनहुँ) । यहाँको आँबुखैरेनी गाउँपालिका–३ की २५ वर्षीया सरिश्मा गुरुङले विसं २०७७ मा तीन हजार पाँच सय रुपैयाँ लगानी गरेर फूलको व्यापार सुरु गरिन् ।
फूलको व्यापार विस्तार गर्दै गुरुङले उनले सभा–सेमिनार, पास्नी, विवाहलगायतका उत्सवको सजावट गर्दै आइरहेकी छन् । हाल उनले मासिक दुई लाख रुपैयाँ आम्दानी लिने गरेको बताइन् ।
गुरुङका अनुसार राम्रो कार्यक्रम भएमा सिजनमा महिनामै २० लाख रुपैयाँसम्मको कारोबार हुन्छ । अन्य समयमा मासिक आठ–नौ लाख रुपैयाँसम्मको कारोबार हुने गरेको छ । खर्च कटाएर मासिक करिब दुई लाख रुपैयाँ बचत हुने उनले बताइन् ।
‘पोखरा र काठमाडौँमा काम भइरहेको छ । ग्राहकलाई थप सहजता दिन काठमाडौँमा नयाँ शाखा खोल्ने तयारी गरेका छौँ,’ गुरुङले भनिन् । अब फूल व्यवसायलाई अझ व्यवस्थित बनाउन नर्सरी स्थापना गर्ने तयारी गरेको उनले जानकारी दिइन् ।
‘व्यवसाय विस्तारका लागि जग्गा खोजी भइरहेको छ, फूल तथा बिरुवा उत्पादन र बिक्री अझ प्रभावकारी बनाउनेछौँ,’ उनले भनिन् ।
FACEBOOK COMMENTS