काठमाडौं । गोदावरी फूलको १८औँ प्रतियोगितात्मक प्रदर्शनी २०८२ ललितपुरमा सुरू भएको छ ।
फ्लोरिकल्चर एसोसिएशन नेपालको आयोजनामा आजदेखि सुरू भएको प्रदर्शनी कात्तिक २ गतेसम्म सञ्चालन हुने जानकारी गराइएको छ ।
प्रदर्शनीको उद्घाटन समारोहमा मन्तव्य राख्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डाक्टर गोविन्दप्रसाद शर्माले नेपालको पुष्प व्यवसायको विकास, विस्तार र प्रवर्द्धनका लागि व्यवसायीहरूले उठाएको मुद्दा सम्बोधनका लागि नीतिगत विषयमा सहजीकरण गर्ने बताए ।
नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष वस्तुगत परिषद्का सभापति हेमराज ढकालले पुष्प व्यवसायको प्रवर्द्धनका लागि बीउबिजनको विकास र प्रदर्शनीका लागि सुविधाको व्यवस्था गरिनुपर्नेमा जोड दिए ।
पुष्प विकास केन्द्रका प्रमुख रवीन्द्र थापाले प्रदर्शनीले पुष्प व्यवसायको प्रवर्द्धनका साथै रोजगारीमा समेत महत्त्वपूर्ण योगदान दिने धारणा राख्नुभयो ।
फ्लोरिकल्चर एसोसिएशन नेपालका अध्यक्ष राजेशभक्त श्रेष्ठले पुष्प व्यवसायको विकास र प्रवद्र्धनका लागि हरेक वर्ष लगातार रूपमा प्रतियोगितात्मक प्रदर्शनी गर्दै आइरहेको जानकारी गराए ।
पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ९० वटा स्टल छन् । प्रदर्शनीमा ४० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको अध्यक्ष श्रेष्ठले जानकारी गराए ।
FACEBOOK COMMENTS