काठमाडौं । ललितपुरको ग्वार्को चोकमा निर्माण भइरहेको नेपालकै पहिलो फ्लाइओभर निर्माण कार्य सम्पन्न नहुँदै भत्काउन थालिएको छ ।
८२ प्रतिशत भन्दा धेरै निर्माण कार्य सम्पन्न भइसकेको फ्लाइओभरमा गुणस्तरहीन काम भएको पाइएपछि भत्काउनु परेको हो । माटो भर्न तयार पारिएको ‘प्रिकाष्ट प्यानल’ चर्किएपछि उक्त भागलाई भत्काउन लगाइएको सडक विभागले जानकारी दिएको छ ।
‘प्रिकाष्ट प्यानल’ चर्किएको पाइएपछि सडक विभागको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले निरीक्षण तथा परीक्षण गरेको थियो । परीक्षणपछि गुणस्तरहीन काम भएको निष्कर्ष निकाल्दै विभागले करिब ४० मिटर ‘प्रिकाष्ट प्यानल’को पर्खाल भत्काएर पुनर्निमाण गर्न निर्देशन दिएको हो ।
विभागको निर्देशनपछि पर्खाल लगाएर माटो भरिएको सातदोबाटोतर्फको केही भाग भत्काइएको छ । कुल ४५५ मिटरको लम्बाइ हुने फ्लाइ ओभरको निर्माण कार्य २०७८ फागुन १२ गते ठेक्का सम्झौता भएर सुरू गरिएको थियो ।
आशिष–समानान्तर–रेलिगेर जेभीले ठेक्का पाएको यो आयोजनाको म्याद पहिले २०८० फागुन ११ सम्म थियो । १७ करोड ६ लाख ८८ हजारमा ठेक्का लागेको यो आयोजना निर्माण सम्पन्न हुने मिति अझै अनिश्चित छ । ग्वार्को चोक चक्रपथको व्यस्त खण्ड हो, जहाँ दैनिक ५० हजारदेखि एक लाखसम्म सवारीसाधन ओहोरदोहोर गर्ने गर्दछन् ।
FACEBOOK COMMENTS