काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) र नेपाल उद्योग तथा व्यवसाय महासङ्घले शुक्रबार तीनकुनेमा भएको घटनाको निन्दा गर्दै त्यसबाट भएको क्षतिको परिपूर्ति हुनुपर्ने माग गरेका छन् ।
दुवै महासङ्घले बेग्लाबेग्लै विज्ञप्ति निकालेर दोषीमाथि कारबाहीको माग पनि गरेका छन् । उनीहरूले विभिन्न माग राखी हुने आन्दोलन तथा प्रदर्शन र त्यसबाट सर्वसाधारण एवं उद्यमी व्यवसायीको पेसा–व्यवसाय गर्न पाउने नैसर्गिक अधिकार हनन् हुनका साथै निजी तथा सार्वजनिक सम्पत्तिमाथि हुने आक्रमण, लुटपाट, आगजनीलगायत गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।
यही चैत १५ गते उक्त स्थानमा भएको आन्दोलनका क्रममा धनजनको क्षति भएकामा दुःख व्यक्त गर्दै एफएनसीसीआईले सर्वसाधारणको निजी जायजेथा, मिडिया हाउस, व्यावसायिक प्रतिष्ठानहरूको सम्पत्ति, कार्यालय र अन्य व्यापारिक गतिविधिहरूमा आक्रमण, आगजनी, लुटपाटलगायत घटनाबाट क्षति भएकामा त्यसको भर्त्सना गर्दै क्षतिपूर्तिको माग गरेको छ ।
संविधानप्रदत्त अधिकारभित्र रहेर आफ्ना माग राख्न पाइए पनि आन्दोलन एवं प्रदर्शनका साथै लुटपाट, आगजनी, धनजनको क्षति निन्दनीय रहेको एफएनसीसीआईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
साथै महासङ्घले सार्वजनिक सुरक्षा सुनिश्चित गर्न र यस्ता घटनाहरूको पुनरावृत्ति रोक्न सम्बन्धित सबैमा आग्रह गरेको छ ।
यसैबीच, नेपाल उद्योग तथा व्यवसाय महासङ्घले पनि आज एक विज्ञप्ति निकालेर विगतदेखि नै देशका उद्योगी–व्यवसायीमाथि आक्रमण गर्दै वित्तीय सङ्घसंस्थालाई ध्वस्त बनाई मुलुकको अर्थव्यवस्थालाई अप्ठ्यारो पार्ने गरिएको, ती आक्रमणको उद्देश्य उद्योगी–व्यवसायी र आमजनतालाई आर्थिक रूपमा कमजोर बनाई राज्यलाई नै असफल बनाउने कुत्सित प्रयत्न भएको भन्दै त्यस्ता गतिविधिको निन्दा गरेको छ ।
शुक्रबार दिउँसो तीनकुने तथा कोटेश्वरलगायत स्थानमा भएका आपराधिक गतिविधिको निन्दा गर्दै महासङ्घले स्वच्छ, पारदर्शी एवं भयरहित वातावरणमा व्यवसाय गर्ने वातावरण निर्माण गर्न सम्बद्ध सबैमा अनुरोध गरेको छ ।
‘यस्ता गतिविधिहरूको विरुद्ध सचेत हुँदै व्यावसायिक जगत् र जनसमुदायको जनधनको सुरक्षाका लागि सम्पूर्ण सरोकारवाला पक्षलाई सचेत हुन महासङ्घ हार्दिक अपिल गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
साथै महासङ्घले शुक्रबारको घटनामा संलग्न सम्पूर्णलाई कानुनी दायरामा ल्याई तत्काल कारबाही र शान्तिसुरक्षाको प्रभावकारी व्यवस्थाका निम्ति सरकारलाई आग्रह गरेको छ । महासङ्घले गणतन्त्रको रक्षा र सुदृढीकरणका लागि सबै उद्योगी–व्यवसायीलाई सक्रिय रहन अनुरोध पनि गरेको छ ।
FACEBOOK COMMENTS