नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि आगामी चैतमा निर्वाचन हुँदैछ ।
निर्वाचनमार्फत नेतृत्वमा पुग्न विभिन्न व्यवसायीहरू लागि सकेका छन् । चैत २८ पछि वर्तमान अध्यक्ष शेखर गोल्छा निर्वतमान हुने छन् भने वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल बिधानबमोजिम स्वतः अध्यक्ष हुने छन् ।
ढकालको कार्यकालपछि अध्यक्ष हुन अहिलेका उपाध्यक्षहरू अञ्जन श्रेष्ठ, रामचन्द्र संघाई र पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ वरिष्ठ उपाध्यक्षका लागि प्रतिस्पर्धामा रहने देखिएको छ ।
उमेशलाल श्रेष्ठको पक्षमा पूर्वध्यक्ष चन्डीराज ढकाल खुलेर लागेका छन् । त्यस्तै अञ्जन श्रेष्ठको पक्षमा निर्वतमान अध्यक्ष भवानी राणा र वर्तमान अध्यक्ष शेखर गोल्छा देखिएका छन् । वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल खुलेर नलागे पनि उमेशलाल श्रेष्ठलाई सहयोग गर्ने मनस्थितिमा देखिन्छन् ।
महासंघमा राम्रो काम गरेर ख्याती समेत कमाएका दिनेश श्रेष्ठ भने महासंघको चुनाव महङ्गो भएकाले युनानीमस भएमात्र वरिष्ठको उम्मेद्वार बन्ने मुडमा देखिन्छन् । महासंघको निर्वाचनको मतभार जिल्ला ५० प्रतिशत एशोसिएट ३० प्रतिशत र वस्तुगत २० प्रतिशत रहेको छ ।
यस हिसाबले महासंघमा वरिष्ठ बन्न यी तीन क्षेत्रमध्ये दुई वटा क्षेत्रमा आफ्नो विजय सुनिश्चित पार्नुपर्ने आवश्यकता पर्दछ ।
महासंघको चुनाव सधैं नै थोरै मतको अन्तरले जित्ने र हार्ने हुने गर्छ । त्यसमा पनि चण्डीराज ढकालले लिड गरेकोे क्यानिडेट अहिलेसम्म हारेको इतिहास सायदै होला भने ढकाललाई नै छक्याउँदै पशुपति मुरारका यस पटक महासंघको विशिष्ठ सदस्य बनेका छन् ।
यसले पनि यस पटकको चुनावमा मुरारका समूह र ढकाल समूहको अन्तरद्वन्द्व देख्न सकिन्छ । अहिले उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठले केही समूहसहित चुनावी यात्रा अगाडि बढाइरहेका छन् । उमशेलाल श्रेष्ठलाई वस्तुगत तर्फबाट हेमराज ढकालले साथ दिइरहेका छन् भने अञ्जन श्रेष्ठलाई मनिषलाल श्रेष्ठले साथ दिइरहेका छन् ।
अर्कोतर्फ उपाध्यक्ष दिनेश श्रेष्ठ र रामचन्द्र संघाईलाई दोस्रो कार्यकाल दोहो¥याउन पूर्वध्यक्षहरूको सुझाव छ ।
आर्थिक मन्दीका कारण व्यवसायमा परेको समस्याले गर्दा यो चुनावमा ठूलो धनराशी खर्च गर्न कोही पनि तयार छैनन् ।
पहिला उम्मेदवार बन्न हतारिने व्यवसायीहरू यसपटक सुस्त देखिएका छन् । एसोसिएटमा राम्रो दखल राख्ने सौरभज्योति, साहिल अग्रवाल, भरत आचार्य प्रायः मौन नै छन् । सरकार निजी क्षेत्रलाई उकास्ने भन्दा पनि सिध्याउने मनस्थतिका कारण निजी क्षेत्रले लामै लडाइँ लड्न पर्ने देखिन्छ ।
यसकारण निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासंघले यस बेला चुनावको विकल्प दिएर दूरदराजदेखि केन्द्रसम्मको व्यवसायलाई परेको समस्याको समाधान निकाल्न सके महासंघको इतिहासमा अर्को अध्याय थपिने छ ।
FACEBOOK COMMENTS