काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को नयाँ नेतृत्वका लागि हेमराज ढकाल नेतृत्वको प्यानल घोषणा गरिएको छ ।
हाल वस्तुगत तर्फका उपाध्यक्ष रहेका ढकालको समूहले आज सोमबार केही पदमा उम्मेदवारी घोषणा गरेको हो ।
जसअनुसार एसोसिएट उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा उमेश डालमिया र कल्पना गैरेको उम्मेदवारी घोषणा गरिएको छ । यस्तै, वस्तुगत उपाध्यक्षमा नरेश लाल श्रेष्ठ र महिला उपाध्यक्षमा कमला श्रेष्ठको उम्मेदवारी घोषणा गरिएको छ ।
हाल वस्तुगत उपाध्यक्ष रहेका हेमराज ढकाललाई वरिष्ठ उपाध्यक्षको उम्मेदवारका रूपमा प्रस्तावित गरिएको छ । नयाँ वरिष्ठ उपाध्यक्ष नयाँ निर्वाचित कार्यसमितिबाट चयन हुने संघको वैधानिक व्यवस्था छ ।
आगामी कार्यकालसम्म वर्तमान वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने व्यवस्था छ । त्यसपछि भने अध्यक्षमा पनि प्रतिस्पर्धा हुने छ । विद्यमान व्यवस्था अनुसार हाल वरिष्ठ उपाध्यक्ष रहेका अञ्जन श्रेष्ठ आगामी कार्यकालका लागि स्वत: अध्यक्ष बन्दैछन् ।

यसैबीच, भावी नेतृत्वका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले अर्को समूह निर्माण गरिरहेको बताइएको छ । उक्त समूहबाट वस्तुगत उपाध्यक्षको उम्मेदवारमा शिवप्रसाद घिमिरे, एसोसिएट्समा प्रबलजंग पाण्डे, जिल्ला नगर उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दिलकुमार श्रेष्ठ रहने बताइएको छ ।

महासंघले आगामी चैत २८ र २९ गते ६०औँ वार्षिक साधारणसभा आयोजना गर्दैछ । उक्त साधारणसभाले संघले भावी नेतृत्व चयन गर्ने छ ।

FACEBOOK COMMENTS