काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले पहिला गिरफ्तार गर्ने र त्यसपछि मात्रै समस्या पहिल्याउने सरकारी एजेन्सीहरूको प्रवृत्तिले नेपालका समग्र उद्योगी तथा व्यवसायीहरू निरुत्साहित भएको बताएको छ ।
सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरीलाई पक्राउ गरिएकोप्रति आपत्ति जनाउँदै महासंघले मुलुक आर्थिक समस्यासँग जुधिरहेका बेला उद्यमी व्यवसायीमाथि भइरहेको धरपकड एवम् पक्राउले झनै निराश र निरुत्साहित बनाएको बताएको हो ।
म्हासंघले भनेको छ, ‘महासंघले सम्बन्धित विषयको गहिरो अनुसन्धान नभएसम्म व्यवसायीलाई पक्राउ नगर्न सरकारलाई पटकपटक आग्रह गर्दै आएको छ । पहिले गिरफ्तार गर्ने र त्यसपछि समस्या पहिल्याउने प्रवृत्तिले देशको वर्तमान व्यावसायिक परिदृश्यबाट पहिले नै निराश भएका व्यवसायीहरूलाई थप निरुत्साहित बनाएको छ । महासंघ यस विषयमा पहिले सत्यतथ्य पत्ता लगाएर आवश्यक परे कानुनी कारबाही अघि बढाउन सरकारलाई आग्रह गर्दछ ।’
केही महिनाभित्रै नेपालमा लगानी सम्मेलन हुन गइरहेको सन्दर्भमा यस्ता पक्राउले हालका र सम्भावित स्वदेशी तथा विदेशी लगानीकर्तामा नकारात्मक सन्देश जानेतर्फ सचेत गराउँदै महासंघले सरकार एवम् सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएको छ ।
FACEBOOK COMMENTS