काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षको कार्यकाल अब दुई वर्षको हुने भएको छ । हाल कायम तीनवर्षे कार्यकाललाई दुई वर्षमा झार्ने संशोधित विधान मंगलबार बसेको महासंघको विशेष साधारणसभाले पारित गरेको हो ।
महासंघ कार्यसमितिले गत २४ असारमा संशोधित विधान तयार पारेको थियो । विशेष साधारणसभाले विधान सर्वसम्मत पारित गरेसँगै महासंघका अध्यक्षको कार्यकाल दुई वर्षको हुने व्यवस्था कार्यान्वयनमा आउने भएको हो । साधारणसभाबाट पारित विधान मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि लागू हुनेछ ।
यस्तै, महासंघमा फेरि प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष चयन गरिने भएको छ । यसअघिको विधानमा महासंघका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान थियो । यसअघिदेखि नै प्रत्यक्ष निर्वाचनबाट महासंघको अध्यक्ष चुनिनुपर्ने प्रस्ताव भए पनि सदस्यहरूबीच विवादका कारण पारित हुन सकेको थिएन । विशेष साधारणसभाले संशोधित विधान पारित गरेसँगै यस व्यवस्थाले मूर्त रूप पाउने भएको हो ।
अध्यक्ष प्रत्यक्ष निर्वाचित हुने प्रावधानले सक्षम व्यक्ति नेतृत्वमा आउन सहयोग पुग्ने विश्वास गरिएको छ ।
विशेष साधारणसभाले कार्यसमितिको कार्यकाल दुई वर्षको हुने, एक महिला उपाध्यक्ष रहने, वरिष्ठ उपाध्यक्ष र महिला उपाध्यक्षको चयन कार्यकारिणी समितिले गर्ने, जिल्ला/नगरतर्फ दुई जना उपाध्यक्ष रहनेलगायत व्यवस्था पनि गरेको छ ।
साधारणसभाले हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बनेर उनको कार्यकाल सकिएपछि अध्यक्ष चयन प्रत्यक्ष निर्वाचनबाट गर्ने र कायर्काल दुई वर्षको हुने व्यवस्था गरेको हो ।
‘विधानमा ९ वटाजति विषय संशोधन गरिएका छन् । तीमध्ये सबैभन्दा महत्त्वपूर्ण संशोधन भनेको प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष चयन गर्ने र हाल कायम तीनवर्षे कार्यकाललाई दुई वर्षमा झार्ने हो,’ काठमाडौं उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश श्रेष्ठले कर्पोरेट खबरसँग भने, ‘वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठको अध्यक्षको कार्यकाल सकिएपछि दुईवर्षे कार्यकाल लागू हुनेछ र त्यसपछिका अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चयन हुनेछन् ।’
नयाँ व्यवस्थाअनुसार हालको कार्यसमितिको तीनवर्षे कार्यकाल सकिएपछि वर्तमान वरिष्ठ उपाध्यक्ष श्रेष्ठ स्वतः अध्यक्ष बन्नेछन् । त्यस कार्यसमितिको वरिष्ठ उपाध्यक्ष कार्यकारिणी समितिले चयन गर्नेछ । यसअघि वरिष्ठ उपाध्यक्षको प्रत्यक्ष निर्वाचन हुने व्यवस्था थियो । महासंघ कार्यकारिणी समितिले दुई जना वरिष्ठ उपाध्यक्ष रहने प्रस्ताव गरेको थियो । साधारणसभाले एक जना वरिष्ठ उपाध्यक्ष रहने हालकै व्यवस्था पारित गरेको हो ।
संशोधित विधानमा एक जना महिला उपाध्यक्ष रहने व्यवस्था छ । तर, महिला उपाध्यक्षका लागि कार्यकारिणी समितिमा १२ जना महिला सदस्य हुनुपर्नेछ । यदि कार्यकारिणी समितिमा १२ जना महिला सदस्य नभएको अवस्थामा महिला उपाध्यक्ष नरहने महासंघले प्रस्ट्याएको छ ।
यसैगरी जिल्ला/नगरतर्फ २ जना उपाध्यक्ष रहने व्यवस्था महासंघले गरेको छ । यसअघि जिल्ला/नगरबाट एक जना मात्र उपाध्यक्ष रहने व्यवस्था थियो ।
प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष चयन एक कार्यकालपछि भए पनि बाँकी एसोसिएट्स र वस्तुगततर्फबाट महिलाको प्रतिनिधित्व सम्बन्धमा भएको व्यवस्था आउँदो निर्वाचनबाटै लागू हुने महासंघले जनाएको छ । उपाध्यक्षमा एकसहित विभिन्न पदमा महिला प्रतिनिधित्व हुनैपर्ने नयाँ व्यवस्थाको सुरूआत गरिएको छ ।
यस्तै, महासंघले वस्तुगतको १४ सदस्यमध्ये एक जना महिला अनिवार्य, एसोसिएट्सका १९ सदस्यमध्ये २ महिला अनिवार्यलगायत व्यवस्था गरेको छ । महासंघले यसअघि पनि विधान संशोधनको प्रयास गरेको थियो ।
यसअघि पूर्वअध्यक्ष चण्डीराज ढकाल र कुशकुमार जोशीको संयोजकत्वमा छुट्टाछुट्टै विधान संशोधन समिति बनाएर प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष चयन गर्ने प्रक्रिया प्रस्ताव भए पनि पारित हुन सकेको थिएन । महासंघको अध्यक्ष सुरूदेखि नै प्रत्यक्ष निर्वाचनबाट चुनिँदै आए पनि विशेष साधारणसभामार्फत २०७३ सालमा विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्षको निर्वाचन गर्ने र वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था सुरू गरिएको हो ।
यो व्यवस्थाअनुसार हालसम्म पूर्वअध्यक्षद्वय भवानी राणा र शेखर गोल्छा अध्यक्ष भइसकेका छन् भने चन्द्रप्रसाद ढकाल बहालवाला छन् । हालका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ पनि यही व्यवस्थाअनुसार अध्यक्ष बन्नेछन् ।
FACEBOOK COMMENTS