काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको बागमती प्रदेशको अध्यक्षमा दुर्गाराज श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् ।
वर्तमान कार्यसमितिमा उपाध्यक्ष रहेका श्रेष्ठले आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
बागमती प्रदेश महासंघलाई भौतिक संरचना सम्पन्न बनाउने, जिल्ला नगर उद्योग वाणिज्य संघ र वस्तुगत संघहरुको क्षमता विकासमा केन्द्रित हुने, साना तथा मझौला उद्यम व्यवसायलाई लक्षित गरी प्रदेशको आर्थिक र औद्योगिक नीति निर्माणमा केन्द्रित हुने जस्ता एजेण्डासहित श्रेष्ठले अध्यक्षमा उम्मेदवारी दिने उद्घोष गरेका हुन् ।
उनले बागमती प्रदेशका भूगोलका उद्योग वाणिज्य संघहरु, सबै वस्तुगत संघहरु तथा एसोसियट सदस्यहरुलाई स्थानीय तह र प्रदेश सरकारसँग जोडेर कर प्रणाली र लेखा प्रणालीदेखि नापतौल सम्मका विषयमा आफूले काम गर्ने प्रतिवद्धता जनाएका छन् । बजार अनुगमनमा नाममा व्यवसायीहरुले पाउने दु:ख र हैरानी सधैँका लागि अन्त्य गर्न बजार अनुगमनको स्पष्ट मापदण्ड बनाउनका लागि सम्बन्धित उद्योग वाणिज्य संघहरुसँग स्थानीय प्रशासनले सहकार्य गर्नुपर्ने नीतिगत प्रबन्ध गर्ने आफ्नो योजना रहेको पनि श्रेष्ठले बताएका छन् ।
२०६२ सालबाट व्यवसायिक यात्रा प्रारम्भ गरेका उनी नेपाल वितरक संघको कार्यसमिति सदस्य हुँदै अध्यक्षसम्म भएका थिए । उनले २०७४ देखि २०७६ सम्म वितरक संघको अध्यक्ष भएर सफलतापूर्वक कार्यकाल सम्पन्न गरेका थिए ।

उनी उद्योग वाणिज्य संघ काठमाडौँको संस्थापक हुन् । आफू संस्थापक सदस्य रहेको यस संघको हाल उनी महासचिव छन् । यति मात्रै होइन, अन्तर्राष्ट्रिय रुपमा नेपालको औद्योगिक र व्यवसायिक क्षेत्रको प्रतिनिधित्व गर्दै उनी ‘नेपाल–माल्टा चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्री’को एक्जुकेटिभ मेम्बर (कार्यकारी सदस्य) छन् ।

पोखरा विश्व विद्यालयबाट एमबीए उत्तीर्ण गरेका श्रेष्ठले प्रदेश सरकारसँग उद्योगी व्यवसायीका कुराहरुमा ‘स्ट्रङ लविङ’ गर्ने र समस्या समाधानमा दिनरात केन्द्रित हुने प्रतिवद्धतासहित आफूले अध्यक्षमा उम्मेदवारी घोषणा गरेको जनाएका छन् ।

FACEBOOK COMMENTS