काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् ।
महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्था भएअनुसार बिहीबार सम्पन्न ५७औं साधारणसभाले ढकाललाई २०औं अध्यक्ष घोषणा गरेको हो ।
निवर्तमान अध्यक्ष शेखर गोल्छाबाट ढकालले आजै पद तथा गोपनीयताको शपथ लिएका छन् ।
शपथ ग्रहणलगत्तै नवनिर्वाचित अध्यक्ष ढकालले अध्यक्षका रुपमा महासंघको छविलाई आगामी दिनमा अझ उँचो बनाउने प्रतिवद्धता जनाए ।
उनले अबको कार्यकालमा पाँच वटा विषयलाई प्राथमिकता दिने उद्घोष गरे ।
जसअनुसरि पहिलो- वर्तमान आर्थिक संकट समाधानको रणनीति तयार गर्ने, दोस्रो- लगानीको वातावरण बनाउने, तेस्रो- राज्य र निजी क्षेत्रबीचको साझेदारी सुदृढ गर्ने, चौथो- दक्ष जनशक्ति उत्पादन र रोजगारी सृजना गर्ने तथा पाँचौं- व्यवसायीहरुको मनोबल उच्च बनाउन राज्यको मर्यादाक्रममा निजी क्षेत्रको स्थान निर्धारण गर्ने रहेको उनले उल्लेख गरे ।
नवनिर्वाचित अध्यक्ष ढकाल पहिलो पुस्ताका सफल उद्यमी एवं व्यवसायी हुन् ।
महासंघमा दुई कार्यकाल सदस्य रहेका ढकालले लगानी समिति, रोजगारदाता परिषद्को सभापति, एसोसिएट उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् ।
FACEBOOK COMMENTS