काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का सदस्य एवम् निर्यात प्रवर्द्धन समितिका सभापति नरेशलाल श्रेष्ठले आम उद्योगी–व्यवसायीका समस्या आगामी आर्थिक वर्षको बजेटले सम्बोधन गर्नुपर्ने बताएका छन् ।
विभिन्न कारणले गर्दा उद्योगी–व्यवसायीहरू पलायन हुने अवस्था नेपाली अर्थतन्त्रका लागि गम्भीर समस्या भएको भन्दै उनले ती उद्योगी–व्यवसायीको समस्या बजेटले सम्बोधन गर्नुपर्ने बताएका हुन् ।
महासंघको ६०औँ वार्षिक साधारणसभामार्फत हुने नेतृत्व चयन प्रक्रियामा वस्तुगततर्फबाट उपाध्यक्ष पदको उम्मेदवार समेत रहेका श्रेष्ठले भने कोभिड–१९ महामारीदेखि नै व्यवसायीको मनोबल बढ्न नसकेको बताए । ‘कोरोना महामारीपछि नै व्यवसायीहरू एकदमै समस्यामा छन् । भदौ २३ र २४ को जेन–जी आन्दोलनपछि त उद्योगी व्यवसायीको आत्मबल ह्वात्तै गिरेको छ,’ उनले भने, ‘दुईतिहाई नजिकको वर्तमान सरकारले व्यवसायीको समस्या समाधान गर्दैै आत्मबल उचो बनाउनुको विकल्प छैन ।’
आफूले अहिले पनि व्यावसायिक हकहितमा काम गर्दै आएको र आगामी दिनमा पनि व्यवसायीको एजेण्डा लिएर सरकारसँग नीतिगत पहलका लागि काम गर्ने बताए । ‘मैले सँधै वस्तुगत संघका समस्या समाधान गर्न सरकार र सरोकारवाला निकायसँग बहश पैरवी गर्दै आएको छु,’ उम्मेदवार श्रेष्ठले भने, ‘सोही अनुरूप अहिले पनि वस्तुगत संघसंस्थाका समस्यालाई बजेटमार्फत सम्बोधन गराउन प्रि–बजेट छलफलको आयोजना गरेका हौँ आशा छ, आज उठेका समस्याहरूलाई सरकारले बजेटमार्फत सम्बोधन गर्नेछ ।’
महासंघको आसन्न निर्वाचनमा वस्तुगततर्फका उपाध्यक्ष उम्मेदवार श्रेष्ठको समूहले सरकार र निजी क्षेत्रबीच प्रि–बजेट छलफल गराएको थियो । उद्योगी व्यवसायीका समस्या तथा मागलाई आगामी बजेटमार्फत सम्बोधन गराउने उद्देश्य अनुरूप सो समूहले छलफल कार्यक्रम आयोजना गरेको बताएको छ ।



कार्यक्रममा महासंघको वस्तुगततर्फका उपाध्यक्ष एवम् वरिष्ठ उपाध्यक्षका प्रस्तावित उम्मेदवार हेमराज ढकालले आफ्नो कार्यकाल महासंघको तर्फबाट सरकारसँग लविङ गरेर उद्योगी व्यवसायीको हितमा थुप्रै काम गरेको र अबका दिनमा उद्योगी वयवसायीको समस्या समाधानका लागि आफू सधैं व्यवसायीकै साथमा रहेने बताए ।

‘यसअघि सरकारले निजी क्षेत्रमा पनि अख्तियार दुरूपयोग अनुसन्धान आयोग प्रवेश गर्ने नियम ल्याउन लागेको थियो,’ उम्मेदवार ढकालले भने, ‘त्यसमा हालका अध्यक्ष चन्द्रप्रसाद ढकाल र आफूहरू लागेको र त्यसलाई रोक्न सफल भएको भन्दै अहिलेको कार्यकालमा २० भन्दा बढी कानुनहरू परिमार्जन गरी व्यवसायीमैत्री बनाउन सफल भएका छौँ ।’ सोही अनूरूप अबका दिनमा पनि व्यावसायिक हकहितमा काम गर्न नरेशलाल समूहलाई नै जिताउनुको विकल्प नभएको उनको भनाइ थियो ।
ललितपुरस्थित हिमालय होटेलमा भएको उक्त छलफलमा वस्तुगत संघ तथा महासंघतर्फका गरी ८० भन्दा बढी अध्यक्षहरू सहभागी भएका थिए भने बजेटसँग सम्बद्ध विभाग तथा महाशाखा प्रमुखहरू उपस्थित थिए । कार्यक्रममा अघिकांश वस्तुगत अध्यक्षहरूले अहिले पनि व्यवसायीका धेरै समस्याहरू रहेको र अब बन्ने बजेटमार्फत सम्बोधन हुनुपर्नेमा जोड दिएका छन् ।
महासंघको आसन्न निर्वाचनमा वस्तुगततर्फका उपाध्यक्ष नरेशलाल श्रेष्ठको समूहबाट सदस्यहरूमा कमला श्रेष्ठ, भक्तबहादूर हमाल, सुबोधकुमार गुप्ता, लिलेन्द्र प्रधान, पशुपतिदेव पाण्डे, हरीबहादुर कार्की, राजेन्द्र सङ्ग्रौला, दुर्गा प्रसाद सुवेदी, निराजन बहादुर चलाउने, सागर ढकाल, कृष्णभक्त श्रेष्ठ, विदुर धमला, सुरज बञ्जाडे र विप्लव अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै सोही समूहबाट महासंघको तर्फबाट प्रतिनिधित्व गर्दै सदस्यहरूमा सुनैना घिमिरे पाण्डे र सुधीर पराजुली चुनावी मैदानमा छन् ।