शिव प्रसाद घिमिरे
उम्मेदवार, वस्तुगत संघको तर्फबाट उपाध्यक्ष
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)
आज म यहाँ कुनै नयाँ परिचय दिन उभिएको छैन । म यहाँ कुनै व्यक्तिगत लाभको फेहरिस्त सुनाउन पनि उभिएको होइन । आज म एउटा संकल्प बोकेर यो गरिमामय मञ्चमा उभिएको छु ।
आज म एउटा विशेष जिम्मेवारीको बोधले भावुक छु भने, निजी क्षेत्रको सुनौलो भविष्य निर्माण गर्ने संकल्पले उत्तिकै उत्साहित पनि छु ।
मैले वर्षौंदेखि देखेको समृद्धिको सपना र व्यवसायी साथीहरूको भरोसाले आज मलाई भावुक बनाएको छ भने, महासंघलाई वास्तविक शक्ति केन्द्र बनाउने अठोटले मनमा नयाँ उत्साह भरेको छ ।
आज म यो मञ्चमा उभिरहँदा एउटा गम्भीर प्रश्न मेरो मनमा खेलिरहेको छ—

हामी उत्पादन गर्छौं, हामी रोजगारी दिन्छौं, हामी राजस्व पनि तिर्छौं,

तर—नीति निर्माणमा हाम्रो आवाज किन कमजोर भएको होला ?

निर्णय प्रक्रियामा हाम्रो उपस्थिति किन निमछरो रहेको होला ?

व्यवसायी साथीहरूबाटै सुन्छु महासंघप्रति हाम्रो विश्वास कमजोर किन हुँदै गएको छ होला ?
मन मनै सोच्छु के महासंघ आज हामी सबै व्यवसायीको घाम–पानी छेक्ने वास्तविक छाता बन्न सकेको छ ?
साथीहरू, आज महासंघ एउटा निर्णायक मोडमा छ । निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड त हो, तर नीति निर्माणमा हाम्रो आवाज कमजोर छ ।
हामीले धेरै वर्षसम्म सह्यौं
नीतिगत अन्याय सह्यौं, निर्णय प्रक्रियामा बेवास्ता सह्यौं,
महासंघको कमजोर उपस्थिति सह्यौं ।
अब प्रश्न उठ्छ
अझ कति सहने ? अब बोल्ने बेला आएको छ । अब लड्ने बेला आएको छ । अब महासंघलाई शक्तिशाली बनाउने बेला आएको छ ।
यही यथार्थलाई बदल्न, निजी क्षेत्रको गिरेको मनोबल उकास्न र महासंघलाई एउटा उत्कृष्टताको केन्द्रको रूपमा विकास गर्न आबश्यक देखिएको छ ।
धेरैले मलाई सोध्छन्, शिवजी, तपाईंको व्यवसाय राम्रो छ, प्रतिष्ठा छ, किन फेरि महासंघको निर्वाचन र यो दौडधुप ? किन महासंघका सक्रियता ? किन उपाध्यक्षमै उम्मेदवारी ?
मेरो एउटै उत्तर छ : त्यही व्यवसायीक सफलता, तपाईले देखेको प्रतिष्ठालाई मानक बनाएर म यहाँ केही लिन आएको होइन, म महासंघलाई केही दिन आउँदैछु ।
आज महासंघलाई पद ओगट्ने अनुहार होइन, समस्या सुल्झाउने विवेक र परिणाम निकाल्ने इच्छाशक्ति भएको नेता चाहिएको छ । म त्यही शक्ति र विश्वास दिनका लागि वस्तुगत समूहतर्फको उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्दछु ।
वस्तुगत संघहरू महासंघका मुटु हुन् । तर आज त्यो मुटुको धड्कन सुस्त छ । म यो मुटुलाई ढुकढुकी दिन आएको हुँ । महासंघलाई मेरो अनुभव, समय र सामथ्र्य विशेष योगदान हुनेमा विश्वास दिलाउन चाहान्छु ।
म दाबी गर्छु भावी अध्यक्ष अन्जन श्रेष्ठको नेतृत्वमा म सहित हाम्रो टिमले निजी क्षेत्रका लागि महासंघ मार्फत इतिहाँसमा, व्यवसायी साथीहरूको मनमा स्वर्णीम अक्षरले लेखिने गरि हामी काम गर्नेछौ ।
नेपाल उद्योग वाणिज्य महासंघको यात्रामा मैले विगतका ८० प्रतिशत नेतृत्वसँग काँधमा काँध मिलाएर संस्थागत जग बलियो बनाउने कार्यमा आफ्नो जीवनको महत्वपूर्ण समय खर्चेको छु ।
एउटा इमानदार सिपाही बनेर दशकौँ देखि व्यवसायीक संघ संगठन महासंघको सचिवालयदेखि नीतिगत तहसम्म मैले पुर्याएको योगदान केवल पदका लागि होइन, निजी क्षेत्रको प्रतिष्ठाका लागि थियो ।
अग्रजहरूको अनुभव र वर्तमानको आवश्यकतालाई नजिकबाट बुझेको नाताले, महासंघको इतिहास र भविष्य जोड्ने एउटा दरो कडीको रूपमा मैले सधैँ आफूलाई समर्पित गरेको छु ।
विगतका सफल नेतृत्वहरूसँगको सहकार्यबाट प्राप्त त्यही कार्यदक्षता र परिपक्व अनुभवलाई अब वस्तुगत उपाध्यक्षको रूपमा समग्र व्यवसायीको हकहितका लागि लगानी गर्ने संकल्प गरेको छु ।
हाम्रो संकल्प पनि प्रष्ट छ : सशक्त महासंघ र सुरक्षित निजी क्षेत्र हो ।
हाम्रो समूहको प्रतिबद्धता स्पष्ट छ । हामी महासंघलाई यस्तो संस्था बनाउनेछौँ जहाँ:
सचिवालय सदस्य–केन्द्रित हुनेछ : कर्मचारी भर्नादेखि सेवा प्रवाहसम्म पूर्ण पारदर्शी र व्यावसायिक प्रणाली लागू गरिनेछ ।
वस्तुगत परिषद् नीतिको केन्द्र बन्नेछ: वस्तुगत संघका समस्या समाधान गर्न एकीकृत इकाई बनाइनेछ र नीति निर्माणमा हाम्रो अनिवार्य सहभागिता सुनिश्चित गरिनेछ ।
साना तथा मझौला उद्योगको संरक्षण : विश्वव्यापीकरण र विकासील मुलुकमा उक्लिदै गरेको कारण हाम्रा साना उद्योगहरू जोखिममा छन् । हामी आत्मनिर्भर उद्योग पहिचान गरी विशेष औद्योगिक नीति ल्याउन निर्णायक पहल गर्नेछौं ।
ठूला उद्योग र उद्योगीहरूबीचमा विशेष सहकार्यको बाताबरण बनाउनेछौँ ।
हाम्रो एजेन्डा: उत्पादनमुखी र प्रविधिमैत्री अर्थतन्त्र रहेको छ ।
हाम्रो नेतृत्वले केवल कुरा गर्ने छैन, ठोस परिणाम दिनेछ:
१. कृषि र उद्योगको सम्बन्ध: हामी किसान, सहकारी र उद्योगबीच एकीकृत मूल्य श्रृंखला निर्माण गर्न विशेष पहल गर्नेछौँ । कृषिजन्य कच्चा पदार्थ प्रयोग गर्ने उद्योगलाई सहुलियतपूर्ण कर्जाका लागि पैरवी हुनेछ ।
२. पर्यटनको नयाँ उचाइ: पर्यटनलाई कृषि, स्वास्थ्य र शिक्षासँग जोडेर एकीकृत विकास मोडेल अघि बढाउनेछौँ । अवैध र अस्वस्थ प्रतिस्पर्धा नियन्त्रण गरी सबैलाई करको दायरामा ल्याउने हाम्रो लक्ष्य छ ।
३. युवा र स्टार्टअप : युवा उद्यमीका लागि व्यवसायिक सुरक्षा र प्रोत्साहनमूलक वातावरण निर्माण गरी देशभित्रै रोजगारी सिर्जना गर्न हामी विशेष पहल गर्नेछौ । प्रविधी व्यवसायलाई विश्वव्यापी रूपमा प्रतिबस्पर्धी बनाउनेमा पनि सम्बन्धित सबैसँग पहल हुनेछ ।
४. कर र नीतिगत सुधार : हामी कर घटाउने मात्र होइन, करको दायरा विस्तार गर्ने र पूर्वानुमानयोग्य कर प्रणालीको वकालत गर्नेछौँ ।
हाम्रो टिमले क्षेत्रगत रूपमा दर्जनौँ एजेन्डाहरू समेटिएको विस्तृत घोषणापत्र यहाँहरूका हातमा राखिसकेको छ कृपया यसको गहन अध्ययन गरिदिनुहोला र यसमा छुटेका कुनै पनि विषय वा यहाँहरूका अमूल्य सुझावहरूलाई हामी तयार छौं । हामी निरन्तर सहकार्यको भावनालाई आत्मसात गर्दै साझा संकल्पका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।
हामी नै किन ? भन्ने प्रष्ट उठ्ला । त्यसका दर्जनौ आधार र तर्कहरू छन् ।
हामी जित्नुपर्छ, किनकि हामीसँग स्पष्ट रोडम्याप छ ।
हामी बोलेर होइन, गरेर देखाउने नेतृत्व हौँ ।
हामी निजी क्षेत्रको सम्मान र सुरक्षामा आँच आउँदा मौन बस्ने छैनौँ ।
हामी सरकारसँग बराबरीको हैसियतमा उभिएर व्यवसायीको पक्षमा लड्ने साहस राख्छौँ ।
आदरणीय साथीहरू,
अन्त्यमा, म फेरि भन्छु यो निर्वाचन केवल पदको लडाइँ होइन । यो त एउटा ऐतिहासिक महाअभियान हो, महासंघलाई कुन दिशामा लैजाने भन्ने निर्णय गर्ने क्षण हो । त्यसका लागि एजेण्डामा काम गर्नुपर्छ । यहाँहरूलाई थाहा छ हामीले त्यसको सुरुवात गरिसकेका छौ ।
यदि तपाईं सशक्त महासंघ, सम्मानित निजी क्षेत्र र समृद्ध नेपाल चाहनुहुन्छ भने, आउनुहोस्, हामीलाई विश्वास गर्नुहोस् । हामी सहकार्य गरौं । निर्णय तपाईंको हो, त्यसलाई सफल पार्ने जिम्मेवारी हाम्रो हो ।
आउनुहोस
हामी सबै मिलेर महासंघलाई व्यवसायीको वास्तविक शक्ति बनाऔँ । साच्चिकै घाम पानी छेक्ने छाता बनाऔं । उद्योगी र उद्योग सुरक्षित भएमात्रै रोजगारी सृजना गर्न सकिन्छ र देश समृद्धि हुन्छ भनेर नीति निर्मातालाई बुझाऔं । भावी अध्यक्ष अन्जन श्रेष्ठको नेतृत्वमा रहेको हाम्रो टिममा हामी सबै जोडिऔं तपाईलाई पनि स्वागत छ ।
तपाई हामी पदका लागि होइन, समृद्धिको एउटा इँटा थप्न सक्रिय हुनु जरुरी छ । मेरो र हाम्रो टिमको एउटै प्रतिज्ञा छ तपाईंको विश्वास म टुट्न दिने छैनौं, महासंघलाई म झुक्न दिने छैनौं ।
धन्यवाद । जय उद्योग, जय व्यवसाय !
FACEBOOK COMMENTS