काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) मा नयाँ नेतृत्वका लागि रस्साकस्सी तीव्र बन्दै गएको छ ।
आगामी २८ र २९ गते हुने महासंघको ६०औँ वार्षिक साधारण सभामार्फत नेतृत्वमा पुग्न हालसम्म दुईवटा समूहले दाबी प्रस्तुत गरेका छन् । वर्तमान अध्यक्ष चन्द्र प्रसाद ढकालले हेमराज ढकाल र ‘वेटिङ प्रेजिडेन्ट’ समेत रहेका वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले शिव प्रसाद घिमिरेको नेतृत्वमा समूह निर्माण गरी भावी नेतृत्वका लागि दाबेदारी बढाइरहेका हुन् ।
दुवै समूहले आफ्नो पक्षमा मतदान गराउन विभिन्न माध्यममार्फत मतदाताहरूलाई आकर्षित गर्ने प्रयत्न पनि गरिरहेका छन् । यसैबीच, एफएनसीसीआईको नयाँ नेतृत्व चयन नजिकिँदै गर्दा चुनावी प्रतिस्पर्धा चर्किँदै गएको छ, तर यसबीच एक समूहले अर्थतन्त्रको एजेन्डालाई केन्द्रमा राख्दै फरक सन्देश दिन खोजेको छ ।
अञ्जन श्रेष्ठद्वारा प्रवर्द्धित शिव प्रसाद घिमिरे नेतृत्वको समूहले आफ्नो चुनावी प्रचारको कार्यक्रमलाई बहुप्रतिक्षित आगामी सरकार र अर्थतन्त्रको बहससँग जोडेर फरक सन्देश दिएको हो । हिजो मंगलबार नयाँ बानेश्वरस्थित होटेल एभरेष्टमा आयोजित ‘परिवर्तित जनादेशको परिवेशमा अर्थतन्त्रको दिशानिर्देश : निजी क्षेत्रको भूमिका र अपेक्षा’ विषयक अन्तरक्रिया कार्यक्रमले यही सन्देश दिएको छ ।
एफएनसीसीआईको स्थल यातायात तथा पारवहन समितिका सभापति समेत रहेका घिमिरे समूहले आयोजना गरेको उक्त अन्तरक्रिया कार्यक्रममा अर्थतन्त्रको वर्तमान अवस्था, निजी क्षेत्रले भोगिरहेका समस्या तथा आर्थिक सुधारका सम्भावित उपायबारे वृहत छलफल गरिएको छ । हालै सम्पन्न निर्वाचनबाट प्राप्त परिवर्तित जनादेशको पृष्ठभूमिमा देशको अर्थतन्त्रको भाबी दिशा, चुनौती र सम्भावनाबारे कार्यक्रममा गहन छलफल गरिएको हो । कार्यक्रममा निजी क्षेत्रको भूमिका, सरकारसँगको सहकार्य तथा आर्थिक सुधारका आवश्यक कदमबारे सरोकारवालाबीच विस्तृत विचार–विमर्श गरिएको आयोजकले बताएको छ ।

विभिन्न निजी क्षेत्रका व्यवसायीहरूको सहभागितामा सम्मपन्न कार्यक्रममा नयाँ बन्दै गरेको सरकार र नयाँ सरकार र निजी क्षेत्रबीचको सहकार्यका विषयमा सर्वाधिक छलफल भयो । साथै, निजी क्षेत्रको भूमिका, सरकारसँगको सहकार्य र आर्थिक सुधारका लागि आवश्यक नीतिगत कदमहरूबारे पनि सरोकारवालाबीच विस्तृत छलफल भएको छ ।



कार्यक्रममा व्यवसायीलाई स्वागत गर्दै शिव प्रसाद घिमिरेले परिवर्तित जनादेशको परिवेशमा नयाँ अवसर र सम्भावनासँगै मध्यपूर्वमा भइरहेको युद्धका कारण उत्पन्न भएको आर्थिक चुनौतीका बारेमा आफ्ना धारणा व्यक्त गरेका थिए । नेपालको आर्थिक विकासमा निजी क्षेत्रको योगदान अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले रोजगारी सिर्जना, उत्पादन वृद्धि र राजस्व संकलनमा निजी क्षेत्रको अग्रणी भूमिका रहेको बताए ।

तर, नीतिगत अस्थिरता, प्रक्रियागत जटिलता, लगानीमैत्री वातावरणको अभाव तथा वित्तीय पहुँचमा कठिनाइ जस्ता समस्याले निजी क्षेत्रलाई अपेक्षित रूपमा अघि बढ्न अवरोध पुर्याइरहेको उनको भनाइ थियो । उनले यस्ता समस्याको दीर्घकालीन समाधानका लागि स्पष्ट र स्थिर आर्थिक नीति आवश्यक रहेकोमा जोड दिएका छन् ।

भावी वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार समेत रहेका घिमिरेले नयाँ सरकारसँग निजी क्षेत्रले उच्च अपेक्षा राखेको उल्लेख गर्दै लगानी सुरक्षा, कर प्रणालीमा सुधार, उद्योग–व्यवसाय सञ्चालनमा सहजीकरण तथा पूर्वाधार विकासमा प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरे । सरकार र निजी क्षेत्रबीच विश्वासको वातावरण निर्माण गर्दै सहकार्यलाई संस्थागत गर्न सके मात्र आर्थिक पुनरुत्थान सम्भव हुने उनको भनाइ छ ।

त्यसैगरी, उनले अन्तर्राष्ट्रिय परिस्थितिबाट उत्पन्न जोखिमलाई दृष्टिगत गर्दै उत्पादनमुखी क्षेत्रलाई प्रवर्द्धन, आयात प्रतिस्थापन तथा निर्यात अभिवृद्धिमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका छन् । निजी क्षेत्रलाई प्रोत्साहन गर्ने खालका नीतिहरू अवलम्बन गरी समग्र अर्थतन्त्रलाई चलायमान बनाउनेतर्फ सरकार अग्रसर हुनुपर्नेमा उनको विशेष जोड थियो ।
कार्यक्रममा अर्थशास्त्री डा. विश्वास गौचनले ‘मध्यपूर्वको युद्ध र दुई तिहाइ बहुमतको सरकारलाई सुझाव’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै नेपालको आर्थिक संरचना, ऋण व्यवस्थापन तथा दीर्घकालीन आर्थिक सुधारका आवश्यक कदमहरूबारे विस्तृत कार्यप्रत्र प्रस्तुति गरेका थिए । उनले अन्तर्राष्ट्रिय परिस्थितिबाट उत्पन्न जोखिमले नेपालको अर्थतन्त्रमा पार्न सक्ने प्रभावबारे प्रकाश पार्दै त्यसअनुसार नीतिगत तयारी गर्नुपर्ने आवश्यकता औंल्याए ।
प्रस्तुत कार्यपत्रमार्फत निजी क्षेत्रको सुदृढीकरण, लगानीमैत्री वातावरण निर्माण, उत्पादनशील क्षेत्रको प्रवर्द्धन तथा आर्थिक पुनरुत्थानका लागि आवश्यक स्पष्ट रोडम्याप समेत प्रस्ताव गरेका छन् । साथै, निजी क्षेत्रलाई अर्थतन्त्रको मुख्य चालकका रूपमा स्थापित गर्दै सरकार–निजी क्षेत्र सहकार्यलाई थप प्रभावकारी बनाउने दिशामा ध्यान दिनुपर्नेमा उनको जोड छ ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएको प्रमुख विषय राजनीतिक स्थिरता रहेको उल्लेख गर्दै हालै सम्पन्न निर्वाचनले त्यसतर्फ सकारात्मक सङ्केत दिएको बताए । नेपालमा लगानी सुरक्षाको सुनिश्चितता आवश्यक रहेकोमा जोड दिँदै अध्यक्ष ढकालले निजी क्षेत्र निरन्तर त्यसको पक्षमा आवाज उठाउँदै आएको स्पष्ट पारे ।

सरकारले निजी क्षेत्रलाई प्राथमिकतामा राख्दै आएको र्चा गर्दै अध्यक्ष ढकालले अर्थतन्त्रको मेरुदण्डकै रूपमा निजी क्षेत्रलाई सबैले स्वीकार गरिसकेको धारणा व्यक्त गरे । सरकार गठनको तयारीमा रहेको दलले प्रतिवद्धतामा पनि निजी क्षेत्रलाई प्राथमिकता दिइएको भन्दै यसले आगामी दिनमा थप आशा जगाएको धारणा उनले व्यक्त गरे ।
अध्यक्ष ढकालले निजी क्षेत्रले संयमित, जिम्मेवार र एकताबद्ध ढंगले अगाडि बढ्न सके अर्थतन्त्रमा सकारात्मक परिणाम देखिने विश्वास व्यक्त गरे । उद्योग वाणिज्य महासंघले प्रस्तुत गरेका सुझावहरूलाई नीतिगत सुधारमार्फत कार्यान्वयन गर्ने प्रतिबद्धता समेत सरकार बनाउने दलबाट आएको उल्लेख गर्दै उनले सबै निजी क्षेत्र एकजुट भएमा विद्यमान समस्या समाधान गर्न सहज हुने बताए । निजी क्षेत्रको एउटै आवाज रहेको सन्देश दिनुपर्नेमा जोड दिँदै ढकालले कार्यक्रमको आयोजना गरेकोमा शिवप्रसाद घिमिरेप्रति धन्यवादसमेत व्यक्त गरेका थिए ।
यसैगरी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष भाष्कर राज राजकर्णिकारले उद्योग वाणिज्य महासंघको वस्तुगततर्फ हुन गइरहेको निर्वाचनको सन्दर्भमा वर्तमान आर्थिक जटिलताबीच भड्किलो खर्च गर्ने प्रवृत्तिबाट बाहिर निस्केर वास्तविक मुद्दामा केन्द्रित बहस हुनुपर्ने बताए । केही पक्षहरू रमझम र अनावश्यक गतिविधिमा अल्मलिएको उल्लेख गर्दै यस्ता प्रवृत्तिले निजी क्षेत्रका मूल एजेण्डालाई ओझेलमा पारिरहेको उनको टिप्पणी थियो ।
राजकर्णिकारले लामो समयदेखि निजी क्षेत्रले अपेक्षा गरेको राजनीतिक स्थिरता जनताले स्पष्ट बहुमतमार्फत सुनिश्चित गरेको उल्लेख गर्दै अब आर्थिक एजेण्डामा केन्द्रित भएर अघि बढ्नुपर्ने धारणा जोडतोडका साथ व्यक्त गरे । निर्वाचनलाई अनावश्यक रूपमा खर्चिलो र भड्किलो बनाउने प्रवृत्तिले निजी क्षेत्रको साखमा समेत प्रश्न उठ्ने भएकाले यसतर्फ सबैले आत्मसमीक्षा गर्नुपर्नेमा उनको जोड थियो ।
उनले नेपालको संविधानमा समाजवाद उन्मुख अर्थतन्त्रको अवधारणा उल्लेख गरिएको भए पनि त्यसको व्यावहारिक कार्यान्वयनबारे स्पष्टता आवश्यक रहेको बताए । अमूर्त अवधारणाभन्दा खुला र प्रतिस्पर्धात्मक अर्थतन्त्रको अभ्यासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै उनले निजी क्षेत्रमैत्री नीतिहरू अवलम्बन गर्न सरकारसँग आग्रह गरेका थिए ।
त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा भावी अध्यक्ष अन्जन श्रेष्ठले कार्यक्रममा प्रस्तुत सबै सुझावप्रति आफ्नो समर्थन रहेको बताए । उनले सहभागीहरूबाट प्राप्त सुझावहरू सङ्कलन गरिएको जानकारी दिँदै ती सुझावहरू आगामी नीति निर्माण र सरकारसँगको संवादका लागि महत्वपूर्ण आधार बन्ने विश्वास व्यक्त गरे । साथै, वर्तमान अवस्थामा रोजगारीका लागि विदेश जानुपर्ने र उपभोगका लागि आयातमा निर्भर रहनुपर्ने यथार्थतर्फ सङ्केत गर्दै उत्पादनमुखी अर्थतन्त्रतर्फ अघि बढ्नुपर्ने आवश्यकता श्रेष्ठले औंल्याएका छन् ।
नयाँ सरकारसँग सुशासन, पारदर्शिता र आर्थिक सुधारको उच्च अपेक्षा रहेको बताउँदै उनले लगानीमैत्री वातावरण निर्माण, करको बोझ न्यूनीकरण तथा व्यवसाय सञ्चालनमा सहजीकरण अत्यावश्यक रहेको धारणा व्यक्त गरेका छन् । ‘लाइन होइन, अनलाइन’ भन्ने अवधारणालाई व्यवहारमा कार्यान्वयन गर्दै सरकारी सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै सरकार र निजी क्षेत्रबीच सहकार्य सुदृढ हुनुपर्ने वरिष्ठ उपाध्यक्ष श्रेष्ठको भनाइ थियो ।
श्रेष्ठले बहुमतसहित गठन हुन लागेको सरकारप्रति आशा व्यक्त गर्दै निजी क्षेत्रलाई प्रोत्साहन गरिएमा पूर्ण सहयोग गर्न तयार रहेको उल्लेख गर्नु भएको थियो । आगामी दिनमा निजी क्षेत्रमाथि थप जिम्मेवारी आउने भएकाले एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिँदै खुला बजार अर्थतन्त्रको सुदृढीकरण र आफ्ना कमजोरीहरूमा सुधार गर्दै जिम्मेवार ढङ्गले अघि बढ्नुपर्ने धारणा उनले व्यक्त गरेका छन् ।
कार्यक्रमको अर्को चरणमा निजी क्षेत्रसँग सम्बन्धित समस्या, चुनौती तथा समाधानका विषयमा बन्द सत्र छलफल (क्लोज डिस्कसन सेसन) पनि सञ्चालन गरिएको थियो । उक्त छलफलको सहजीकरण चर्चित पत्रकार टीकाराम यात्रीले गरेका थिए । उनले अतिथिहरूको स्वागत तथा सत्रको उद्देश्यबारे पनि प्रष्ट्याएका थिए ।
घिमिरे समूहले आयोजना गरेको अति रचनात्मकम सो कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, पूर्व अध्यक्ष भवानी राणा, पूर्वउपाध्यक्ष भाष्कर राज राजकर्णिकारलगायत महासंघका वर्तमान तथा पूर्वपदाधिकारीहरू, विभिन्न वस्तुगत तथा जिल्ला र नगर उद्योग वाणिज्य संघका प्रतिनिधिहरू तथा अन्य सरोकारवाला निकायका पदाधिकारीहरूको उल्लेखनीय सहभागिता थियो ।
कार्यक्रमले परिवर्तित राजनीतिक जनादेशको सन्दर्भमा देशको अर्थतन्त्रको भावी दिशा, निजी क्षेत्रको भूमिका तथा अपेक्षाबारे महत्वपूर्ण छलफलको वातावरण सिर्जना गरेको आयोजकको विश्वास छ । यस्तै, वर्तमान आर्थिक चुनौतीबारे साझा बुझाइ विकास गर्न पनि कार्यक्रम महत्वपूर्ण रहेको थियो ।
छलफलका क्रममा सहभागीहरूले देशको अर्थतन्त्रलाई दिगो, प्रतिस्पर्धी र उत्पादनमुखी बनाउन सरकार र निजी क्षेत्रबीच समन्वय तथा सहकार्यलाई अझ सुदृढ गर्नुपर्नेमा जोड दिएका थिए ।
FACEBOOK COMMENTS