काठमाडौं । घरेलु तथा साना उद्योग संघ, काठमाडौं र उद्योग तथा वाणिज्य कार्यालय, काठमाडौंको संयुक्त आयोजनामा नागार्जुन नगरपालिकामा भइरहेको कृषि तथा स्वदेशी उत्पादित वस्तुहरूको वृहत् प्रदर्शनी भोलि सकिने भएको छ ।
‘उद्योग गरौं, उद्यमी बनौं, नेपाली उत्पादन प्रयोग गरौं’ नाराका साथ हिजो बिहीबारदेखि सुरू भएको तीन दिने जिल्लास्तरीय प्रदर्शनी भोलि सकिन लागेको हो ।
प्रदर्शनीमा स्थानीयस्तरमा उत्पादित वस्तुहरूको प्रवर्द्धन तथा विक्री वितरणका लागि राखिएका छन् । नागार्जुन नगरपालिका–४ सीतापाइलास्थित ताम्राकार हाउस परिसरमा भइरहेको प्रर्दशनी नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंह र नागार्जुन नगरपालिकाका कार्यवाहक प्रमुख सुशीला अधिकारीले संयुक्त रूपमा हिजो बिहीबार उद्घाटन गरेका हुन् ।
महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले अर्थतन्त्रको खम्बाका रूपमा रहेका लघु, घरेलु तथा साना उद्योहरूको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिँदै स्थानीयस्तरमा रहेका साना उद्यमीहरूको मनोबल बढाउनुपर्ने आवश्यकता औंल्याए । नागार्जुन नगरपालिकाका कार्यवाहक प्रमुख सुशीला अधिकारीले लघु तथा घरेलु उद्योगहरूको प्रवर्द्धन र विकासका लागि नगरपालिका निरन्तर लागिरहेको बताए ।
प्रदर्शनीमा स्थानीय मौलिकता झल्काउने ४९ वटा स्टल राखिएको घरेलु तथा साना उद्योग संघ, काठमाडौंका अध्यक्ष सीता कार्कीले जानकारी दिए । पालिकास्तरमा पहिलोपटक आयोजना गरिएको प्रदर्शनीमा व्यवसायी तथा उपभोक्ताहरूको उत्साहजनक सहभागिताले उत्साहित बनाएको भन्दै आगामी दिनमा पनि स्थानीय निकायको सहकार्यमा यस्ता प्रदर्शनीहरूलाई निरन्तरता दिइने उनले बताए ।
उद्घाटन समारोहमा नेपाल घरेलु तथा साना उद्योग महासंघका वरिष्ठ उपाध्यक्ष सूर्य कँडेल, उपाध्यक्षहरू शोभा गुरुङ, राजेन्द्रमान श्रेष्ठ, मोहन कटुवाल, उद्योग तथा वाणिज्य कार्यालय, काठमाडौंका प्रमुख मेघनाथ रिजाल, महासंघअन्तरगत नागार्जुन नगर कमिटी प्रमुख उमा आचार्य, संघका उपाध्यक्ष ईश्वर बहादुर गुरुङलगायतको सहभागिता थियो ।
प्रदर्शनीको सह–आयोजकमा काठमाडौं महानगरपालिका, नागार्जुन नगरपालिका तथा घरेलु नगर संघ, चन्द्रागिरी नगरपालिका तथा घरेलु नगर संघ, टोखा नगरपालिका तथा घरेलु नगर संघ, कागेश्वरी मनोहरा घरेलु नगर संघ रहेका छन् । प्रदर्शनीमा काठमाडौं महानगरपालिका, नागार्जुन नगरपालिका, चन्द्रागिरी नगरपालिका, टोखा नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिकाबाट उद्योगीहरूले सहभागिता जनाएका छन् ।
FACEBOOK COMMENTS