काठमाडौं । अविरल वर्षा र त्यसपछि आएको भीषण बाढीले खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोशी नदीस्थित फोक्सिङटार पुल बगाएको छ ।
सगरमाथा राजमार्गअन्तर्गत खोटाङलाई तराईसँग जोड्ने दिक्तेल-गाईघाट सडकखण्डको फोक्सिङटार पुल शनिबारको बाढीले बगाएको हो ।
आर्क डिजाइनमा निर्मित मोटरेबल पुल शनिबार दिउँसो बाढीले बगाएको स्थानीयले बताएका छन् ।
खोटाङको खोटेहाङ गाउँपालिका-९, लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका-५, आँपटार जोड्ने सुनकोशी नदीमा निर्मित पुल बाढीले बगाएसँगै खोटाङ-तराई सिधा यातायात सम्पर्क टुटेको छ ।
१२० मिटर लामो पुल भ्याटसहित २२ करोड ६७ लाख ११ हजार रूपैयाँमा पूरा गर्ने गरी निर्माण कम्पनीले ठेक्का लिएको थियो । करिब ११ वर्षमा निर्माण भएको पुल सञ्चालनमा आएको दुई वर्ष नपुग्दै बाढीले बगाएको हो ।
फोक्सिङटारमा पुल बनेपछि पहाडी जिल्ला खोटाङ तराईसँग सिधा यातायात सम्पर्कमा जोडिएको थियो । तर, यस वर्षको दसैंको मुखमा बाढीले उक्त पुल बगाएपछि विभिन्न प्रयाेजनले शहरबजार बस्ने खोटाङवासीलाई घर आवतजावत गर्न ठूलो समस्या हुने भएको छ ।
दुर्गम पहाडी जिल्ला खोटाङमा वर्षौं ढिलासुस्ती गरेर बनेको पुल बाढीले बगाएपछि जिल्लावासी निराश बनेका छन् । यो पुलमार्फत पूर्वी तराईसँगै गाईघाट हुँदै राजधानी काठमाडौंसम्म पनि यातायात सेवा निर्भर थियो ।
FACEBOOK COMMENTS