काठमाडौँ । जाजरकोटको नलगाड नगरपालिकाकाले अतिविपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ । अर्थावस्था अत्यन्तै कमजोर रहेका बादी र अन्य विपन्न समुदायलाई नजिकिँदै गरेको चाड दसैँलाई मध्यनजर गर्दै खाद्यान्न वितरण गरिएको हो ।
नलगाडका विपन्न बादी र अन्य ५० परिवारलाई एक बोरा चामल, एक लिटर तेल र दुई किलो दाल वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिए । अर्थाभावका कारण घरमा चुल्हो बल्न धौधौ परेका ती विपन्न परिवारलाई थोरै भए पनि चाडवाड मनाउन सहज होस् भनेर खाद्यान्न सहयोग गरिएको अधिकृत गिरीले बताए ।
दल्लीस्थित बादी समुदाय माछा मारेर दैनिक घर खर्च चलाउँदै आएको छ । अधिकांशको आफ्नै जग्गा नभएका कारण अस्थायी रूपमा बस्दै आएका छन् । पालिकाले विभिन्न सीपमूलक तालिम दिएर पनि रोजगारी सिर्जना गर्न बादी समुदायलाई सहायता गर्दै आएको छ ।
दैनिक ज्याला मजदुरी गरेर छाक टार्दै बादी समुदायलाई पालिकाले समय–समयमा आर्थिक सहयोग गर्दै आएको छ ।
FACEBOOK COMMENTS