बुटवल । नेपालको पहिलो फुड डेलिभरी कम्पनी फुडमाण्डुले औपचारिक रूपमा बुटवलमा आफ्नो सेवाको सुरूआत गरेको छ । बिहीबार बुटवलको डि क्राउन इनमा आयोजित उद्घाटन कार्यक्रममा यसको घोषणा गरिएको हो ।
काठमाडौं, ललितपुर, भक्तपुर, पोखरा र चितवनमा आफ्नो सेवा विस्तार गरिसकेको फुडमाण्डुले १,००० भन्दा बढी रेस्टुरेन्टहरूसँग साझेदारी गर्दै ३ लाखभन्दा बढी ग्राहकलाई सेवा पुर्याउँदै आएको छ । कम्पनीले हालै ‘वानमार्ट’ नामक नयाँ सेवाको पनि सुरूआत गरेको छ, जसले किराना तथा अन्य उपभोग्य वस्तुहरूको तुरून्त डेलिभरी गर्दछ ।
बुटवलमा आयोजित उद्घाटन कार्यक्रममा फुडमाण्डुकी ब्राण्ड र मार्केटिङ म्यानेजर इनेशा भट्टराईले भनिन्, ‘हामी फुडमाण्डुलाई बुटवलमा पनि ल्याउन पाउँदा उत्साहित छौं । अब बुटवलवासीहरूले आफूलाई मनपर्ने रेस्टुरेन्टबाट केही क्लिकमै खाना अर्डर गर्न सक्नुहुनेछ । हामी बुटवल र आसपासका क्षेत्रका ग्राहकहरूलाई सेवा प्रदान गर्न निकै उत्सुक छौं ।’
त्यसैगरी कम्पनीका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले भने, ‘बुटवलमा फुडमाण्डुको सेवा विस्तार गर्नु हाम्रो लागि एक महत्त्वपूर्ण उपलब्धि हो । पार्टनर रेस्टुरेन्टहरूको बलियो सञ्जाल र गुणस्तरीय सेवाप्रति प्रतिबद्धतासहित हामी बुटवलका बासिन्दाहरूलाई उत्कृष्ट फुड डेलिभरी अनुभव प्रदान गर्न उत्साहित छौं ।’
फुडमाण्डुले बुटवलमा २५ भन्दा बढी रेस्टुरेन्टहरूसँग साझेदारी गरिसकेको छ । यी रेस्टुरेन्टहरूमार्फत बुटवल, तिलोत्तमा, कोटिहवा, फूलबारी, पिप्रैया, सैनामैना र वरपरका क्षेत्रमा सहज खाना डेलिभरीको व्यवस्था गरिएको छ । रेस्टुरेन्टको नेटवर्क विस्तार गर्ने योजनाअनुसार बुटवलवासीहरूले अब विविध स्वादका खानाहरू घरमै अर्डर गरी आनन्द लिन सक्नेछन् ।
बुटवल लन्चको खुसियालीमा फुडमाण्डुले ‘हाईबुटवल’ प्रोमो कोड सार्वजनिक गरेको छ । यो प्रोमो कोडमार्फत बुटवलका ग्राहकहरूले फुडमाण्डु एप प्रयोग गरी प्रत्येक अर्डरमा ३०% (अधिकतम २५० रूपैयाँसम्म) छुट प्राप्त गर्न सक्नेछन् । यो अफर माघ महिनाभरका लागि लागू हुनेछ ।
FACEBOOK COMMENTS