काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा जावलाखेल युथ क्लब र मनाङ मस्र्याङ्दी क्लबबीचको खेल बराबरीमा सकिएको छ ।
सातदोबाटोस्थित च्यासल मैदानमा आज भएको खेलमा जावलाखेलले मनाङसँग २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो । जावलाखेलका खेलाडी एनकोटो मासोबिकाले खेलको ३४औँ मिनेटमा गोल गर्दै पहिलो अग्रता लिए ।
त्यस्तै, खेलको ७६औँ मिनेटमा हिसुब थपलियाले गोल गर्दै जावलाखेलको अग्रता दोब्बर बनाए । जाउलाखेलको २–० गोलको अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको अन्तिम दश मिनेटको अन्तरमा मनाङले दुई गोल गर्यो । खेलको ८०औँ मिनेटमा मनाङका विशन गुरुङले एक गोल फर्काए ।
खेलको अन्तिम मिनेटमा मनाङका अर्का खेलाडी सुमित श्रेष्ठले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा टुङ्गाए । यस खेलसँगै जावलाखेल ३१ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । मनाङ २२ अङ्कसहित सातौँ स्थानमा छ ।
FACEBOOK COMMENTS