काठमाडौं । अर्थमन्त्रालयमा बाहिरी व्यक्तिको घुसपैठ भएको भनिएको जेठ १४ गतेको सीसीटीभी फुटेज रिकभर भएको छ ।
नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालाले फुटेज रिकभर गरेर संसदीय छानबिन समितिमा पठाएको हो ।
प्रयोगशालाबाट प्राप्त भिडिओ फुटेजहरू आज बिहान बसेको बैठकमा समिति सदस्यहरुले हेरेका थिए । १४ गते रातिको फुटेज भेटिएको तर, उक्त दृष्यमा मन्त्रालयभित्र रहेका मान्छेहरूको पहिचान हुन नसकेको एक सांसदले जानकारी दिएका हुन् ।
‘रातिको दृष्यमा मान्छेहरूको अनुहार प्रष्ट चिनिएको छैन । यसलाई थप प्रष्ट पार्नका निम्ति हामीले विज्ञहरूसँग बसेर छलफल गर्ने निर्णय लिएका हौं,’ ती सांसदले बताए ।
समितिले यस विषयमा एक्सक्लुसिभ समाचार लेख्ने पत्रकारसँग पनि थप सहयोग मागेको छ । अन्नपूर्ण पोष्टका पत्रकारद्वय सुरेन्द्र काफ्ले र ममता थापासँग समितिले सहयोग मागेको हो । पत्रकारहरूले आफूहरूसँग अर्थमन्त्रालयमा घुसपैठको प्रमाण रहेको बताइरहेका छन् । तर, समितिलाई उपलब्ध गराउन चाहेका छैनन् ।
FACEBOOK COMMENTS