काठमाडौं । इङलिश प्रिमियर लिग क्लब लिभरपुल र खेलाडी मोहमद सलाहबीचको विवाद बढेको छ । लिभरपुलले सलाहलाई आफ्नो च्याम्पियन्स लिगको टिममा समावेश नगरेपछि अब सलाहले जनवरी विन्डोमा क्लब छोड्ने लगभग निश्चित देखिएको छ ।
लिभरपुलले आज राति च्याम्पियन्स लिग अन्तर्गतको खेलमा इन्टर मिलानको सामना गर्दैछ ।
पछिल्ला केहि साता देखि सलाह र क्लबबीच विवाद चलिरहेको थियो । जसका कारण उनलाई पछिल्ला तीन खेलमा प्लेइङ ११ मा समावेश गरिएको थिएन । खासगरी पछिल्लो खेलपछि सलाहले मिडियामा दिएको बयानपछि क्लब व्यवस्थापनले उनलाई टिमबाट बाहिर राखेको हो । सलाहले लिभरपुलमा आफूविरुद्ध षड्यन्त्र भईरहेको आरोप लगाउदै आफुले क्लबलाई ठुलो योगदान गरेपनि क्लबले त्यसको कदर नगरेको बताएका थिए ।
सलाहको प्रशिक्षक आर्ने स्लटसँग सम्बन्ध बिग्रिएपछि समस्या आएको बताइएको छ । यस सिजनमा सलाहको प्रदर्शन राम्रो नभएपछि प्रशिक्षक स्लट र सलाहको सम्बन्धमा दरार आएको बताउने गरिएको छ । यस सीजनको प्रिमियर लिगमा सलाहले केबल ४ गोल गरेका छन् भने २ गोल असिस्ट गरेका छन् ।
३३ बर्षिय सलाहले २०१७ देखि लिभरपुलमा खेल्न थालेका हुन् । उनले अहिलेसम्म लिभरपुलका लागि कुल ४२० खेलमा २५० गोल गरेका छन् ।

उनले लिभरपुललाई २०१९-२० र २०२४-२५ सिजनमा प्रिमियर लिगको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । त्यस्तै लिभरपुलले २०१८-१९ को च्याम्पियन्स लिग उपाधि र २०१७(१८ तथा २०२१-२२ मा उपविजेता हुदा सलाहको महत्वपूर्ण भूमिका रहेको थियो ।



FACEBOOK COMMENTS