विराटनगर । विराटनगरको पेमा युवा क्लबलाई ट्राइव्रेकरमा पराजित गर्दै बि डिभिजन क्लब प्लानिङ ब्वाइज युनाइटेड सहिद भीमनारायण गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
आइतबार धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा सम्पन्न सेमिफाइनल खेलमा विराटनगरको पेमा युवा क्लबलाई पेनाल्टी सुट आउटमा ५–४ गोलअन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज फाइनलमा प्रवेश गरेको हो । निर्धारित समय गोलरहित बराबरीमा सम्पन्न भएपछि खेल पेनाल्टी सुट आउटमा पुगेको थियो । पेनाल्टी सुट आउटमा प्लानिङ ब्वाइजको तर्फबाट विशाल दर्जी, ड्याडी वाम्बा, राजेश शाह, रिशव अधिकारी र निपोलियनले गोल गरेका थिए ।
पेमाका तर्फबाट भीष्म क्षेत्री, सजिन थापा मगर, रिम र यानिकले गोल गरेका थिए भने विवेश राईको प्रहार प्लानिङ ब्वाइजका गोलकिपर लोकेश चौधरीले रोकेका थिए । चौधरी खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद चार हजारसहित ट्रफी हात पारे ।
पहिलो र दोस्रो हाफमा दुवै टिमका खेलाडीले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा गोल गर्नबाट चुके । प्लानिङ ब्वाइजका फागुराम थारुले पटक–पटक पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् । उनलाई पेमाका डिफेन्डरले रोकेका थिए ।
प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल सोमबार झापा फुटबल क्लब र वीरगञ्ज युनाइटेड क्लवबीच हुने आयोजक समितिका संयोजक शम्भु प्रधानले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले नगद पाँच लाखसहित ट्रफी र उपविजेताले दुई लाख ५० हजार हात पार्नेछ । हरेक खेलमा म्यान अफ द म्याच पुरस्कारको व्यवस्था गरिएको छ । विधागत तर्फका उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार प्रदान गरिने छ ।
विसं २०५५ मा स्थापित गोल्डकप सुरुका दुई वर्ष नियमित रुपमा सञ्चालन भएको थियो । त्यसपछि देशको तत्कालीन असहज परिस्थितिका कारण सञ्चालन हुन सकेन । विसं २०६३ पछि गोल्डकप वर्षेनी सञ्चालन हुँदै आइरहेको छ । विसं २०५५ मा धनकुटा नगरपालिका–६ का तत्कालीन वडाध्यक्ष राजेश्वरवहादुर श्रेष्ठले प्रतियोगिताको सुरुआत गरेका हुन् ।
नेपाल कांग्रेसका नेता सहिद भीमनारायण श्रेष्ठलाई विराटनगरमा राजा वीरेन्द्रलाई बम हानेको आरोपमा पक्राउ गरी विसं २०३५ मा तत्कालीन सरकारले गोली हानी हत्या गरेको थियो । उनलाई तत्कालीन सरकारले विसं २०७३ मा राष्ट्रिय सहिद घोषणा गरेको थियो ।
FACEBOOK COMMENTS