काठमाडौं । ए डिभिजन लिगअन्तर्गत शनिबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई ३–० को नतिजामा पराजित गर्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको चौथो चरणको खेलमा २–० को सहज जितसँगै मछिन्द्रले गोलअन्तरमा शीर्ष स्थान हासिल गरेको हो ।
शनिबारको खेलमा शेर्पाको रक्षापंक्तिमाथि निरन्तर आक्रमण गरेको मछिन्द्रले सेटपिसमा पर्याप्त गोलका स्पष्ट मौका बनाएको थियो । आक्रामक शैलीमा मैदानमा उत्रिएको मछिन्द्रले २९औं मिनेटमा सुनिल बलको गोलबाट अग्रता लिएको थियो । नुरेन करिमले करिब ४० यार्डबाट प्रहार गरेको फ्रि–किकमा पेनाल्टी एरिया भित्र रन बनाएर सुनिलले सहज फिनिस गरेका थिए ।
पहिलो हाफमा १–० ले अग्रता बनाएको मछिन्द्रले दोस्रो हाफमा पनि शेर्पामाथिको दबाब कायमै राखेको थियो । मछिन्द्रका मिडफिल्डर विशाल राईले ६८औं मिनेटमा दायाँतर्फबाट प्रहार गरेका कर्नर शेर्पाका सुरेश कुमालले क्लियर गर्न सकेनन् । सोही मौकाको फाइदा उठाउँदै मछिन्द्रका अजरबैजानी फरवार्ड नुर्लान नोब्रुजोभले पेनाल्टी एरिया भित्रबाट गोल गर्दै साबिक विजेताको अग्रता दोब्बर पारेका थिए ।
खेलको इन्जुरी समयमा विमल घर्ती मगरले गोल गर्दै मछिन्द्रको अग्रता ३.० अन्तरको बनाए । वैकल्पिक खेलाडी रूपमा मैदान छिरेका विमलको जारी लिगमा पहिलो गोल हो ।
FACEBOOK COMMENTS