काठमाडौंः नेपालले पहिलोपटक बिजुली बेच्नको लागि अनुमति पाएको छ । दक्षिण एसियामै पहिलोपटक नेपाल मंगलबारबाट बिजुली बिक्री र खरिद गर्ने पहिलो देश बन्न पुगेको छ ।
भारतको विद्युत मन्त्रालयको सहमतिमा अन्तरदेशीय विद्युत व्यापारका लागि स्वीकृति दिने निकायले सोमबार नेपाल विद्युत प्राधिकरणलाई भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा विद्युत बिक्री गर्न अनुमति दिएको हो।
पहिलो चरणमा प्राधिकरणको स्वामित्वमा नुवाकोटमा सञ्चालमा रहेका २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट विद्युत गृहबाट उत्पादित ३९ मेगावाट विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आईआईएक्स) मा बिक्री गर्न अनुमति दिइएको छ।
दुई विद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानेर भारतीय बजारमा बिक्रीका लागि अनुमति दिइएको छ। प्राधिकरणले मंगलबार राति १२ बजेबाट ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइनमार्फत विद्युत निर्यात सुरु गर्नेछ। हाल यो लाइनबाट विद्युत आयात मात्र भइरहेको छ।
यस अघि दुई देशबीच आपसी सहमतिमा बिजुलीको आदानप्रदान मात्रै स्वीकृति थियो । तर अबदेखि भने नेपालले प्रतिस्पर्धाको आधारमा बिजुली बेच्न सक्ने गरी अनुमति पाएको नेपाल विद्युत् प्राधिकरणको भनाई छ ।
FACEBOOK COMMENTS