काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका–२ बस्ने नुवाकोट शिवपुरी गाउँपालिका–३ घर भएका ३८ वर्षीय कृष्णजी थापा, काठमाडौं महानगरपालिका–३१ बस्ने सप्तरी तिलाठी कोईलाडी गाउँपालिका–६ घर भएका २२ वर्षीय अनिल कुमार साह र काठमाडौं चन्द्रागिरी नगरपालिका–३ बस्ने ललितपुर, ललितपुर महानगरपालिका–१६ घर भएका ३० वर्षीय विवेक भुजेल रहेका छन् ।
पक्राउ मध्ये कृष्णजीले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख ३० हजार रूपैयाँ, अनिलले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १८ लाख रूपैयाँ र विवेकले युएई पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कृष्णजीलाई काठमाडौं तारकेश्वर नगरपालिका–२ बाट र अनिललाई काठमाडौं महानगरपलिका–३१ बाट तथा विवेकलाई काठमाडौं महानगरपालिका–१३ बाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
FACEBOOK COMMENTS