असोज २७ , काठमाडौँ, । सर्बियाको बेलग्रेडमा सम्पन्न असंलग्न मुलुकहरुको उच्चस्तरीय वैठकमा भाग लिएर परराष्ट्रमन्त्री डा नारायण खड्का आज स्वदेश फर्किनुभएको छ ।
परराष्ट्रमन्त्री डा। नारायण खड्कासहितको प्रतिनिधिमण्डल गणतन्त्र सर्बिया र गणतन्त्र अजरबैजानका परराष्ट्रमन्त्री निकोला सेलाकोविक र जेहुन ब्यरामभको निमन्त्रणामा यही असोज २२ गते बेलग्रेड प्रस्थान गर्नुभएको थियो । बेलग्रेडमा यही असोज २५ र २६ गते असंलग्न राष्ट्रहरुको उच्चस्तरीय बैठक सम्पन्न भएको थियो ।
सर्बियाको राजधानी बेलग्रेडमा २२ गतेदेखि शुरू भएको दुई दिने असंलग्न आन्दोलनको उच्चस्तरीय बैठकमा उहाँले दुई शक्ति राष्ट्रको पक्षमा कतै नलागेर तटस्थ बसेर विश्व शान्ति र लोकतन्त्र, मानवअधिकारको वकालत गरेको बताउनुभयो । असंलग्न राष्ट्रहरुको पहिलो शिखर सम्मेलन आयोजना भएको ६० वर्ष पूरा भएको अवसरमा उच्चस्तरीय बैठक आयोजना गरिएको थियो ।
स्वदेश फर्किएलगत्तै आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रेस कक्षमा सो बैठकबारे पत्रकारलाई जानकारी गराउँदै उक्त बैठक र आफ्नो भ्रमण सफल र नेपालको निम्ति फलदायी रहेको मन्त्री डा खड्काले बताउनुभयो ।
उहाँले अहिले देखा परेको जातीय र अन्तर राज्य द्वन्द्व, हिंसात्मक अतिवाद, आतंकवाद, जलवायु परिवर्तन, आर्थिक मन्दी, वित्तीय जोखिम, भूराजनीतिक जटिलता, हातहतियारको होडबाजी, धनी र गरिबचीको असमानता, इन्धन तथा खाद्य संकट र कोभिड–१९को महामारीले ल्याएको चुनौतीजस्ता विषयलाई जोडदार रुपमा आवाज उठाएको जानकारी दिनुभयो छ ।
उक्त वैठककै क्रममा महत्वपूर्ण द्विपक्षीय भेटघाट गरेको र ती भेटबाटहरु नेपालका लागि महत्वपूर्ण रहेका पनि मन्त्री डा खड्काको भनाई छ ।
सोही अवसरमा उहाँले सर्बियाका राष्ट्रपति अलेक्सन्डर भसिससँग भेटगरी दुई देशबीचको बहुआयामियक विषयमा छलफल गर्नुभएको थियो । त्यसैगरी गणतन्त्र सर्बिया र गणतन्त्र टर्कीका समकक्षीसँग पनि द्विपक्षीय भेटवार्ता भएको मन्त्री खड्काले जानकारी दिनुभयो ।
भेटका क्रममा ती देश र नेपालबीचको व्यापार र आर्थिक लगानी, आर्थिक सहायता, सांस्कृतिक सम्वन्धका बारेमा छलफल भएको थियो ।
FACEBOOK COMMENTS