साताव्यापी ओमान भ्रमणमा निस्किइन् परराष्ट्रमन्त्री राणा, यस्तो छ कार्यक्रम
कर्पोरट खबर
2:07 pm, शुक्रबार, फाल्गुन २, २०८१
फाइल तस्बिर ।
काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा ओमानका विदेशमन्त्री सायद बद्र बिन हमाद बिन हमूद अल बुसैदीको निमन्त्रणामा ओमान भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेकी छन् ।
एक साता लामो भ्रमणका लागि चार सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी आज बिहान त्यसतर्फ प्रस्थान गरेको मन्त्रालयले जनाएको छ । भ्रमणका दौरान मन्त्री डा राणाले ‘समुद्री साझेदारीको नयाँ क्षितिजतर्फको यात्रा’ भन्ने नाराका साथ ओमानको राजधानी मस्कटमा आयोजना हुने ‘आठौँ हिन्द महासागर सम्मेलन’ मा भाग लिनेछिन् ।
यस्तै, मन्त्री डा राणाले ‘विश्वको दक्षिणी भेगको आवाजलाई बुलन्द पार्ने’ शीर्षकमा सम्मेलनको पूर्ण सत्रलाई सम्बोधन गर्ने मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए । साथै उनले ओमानका विदेशमन्त्री, ऊर्जा तथा खनिजमन्त्री र ओमानका अन्य सम्बन्धित मन्त्रीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । यस अतिरिक्त आपसी सहयोगका क्षेत्रमा केही समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम पनि रहेको छ ।
परराष्ट्रमन्त्री डा राणाले खाडी सहयोग परिषद् (जीसीसी) राष्ट्रहरूमा रहेका नेपाली राजदूत र नियोग प्रमुखसँग भर्चुअल बैठक गर्नेछिन् । साथै मस्कटमा रहँदा नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
FACEBOOK COMMENTS