वीरगञ्ज । आयात निर्यात कारोबारका हिसाबले मुख्य नाका मानिएको वीरगञ्ज भन्सारबाट बितेको ५ वर्षमा वैदेशिक व्यापार २ तिहाइले बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष (आव) २०७३÷७४ को तुलनामा बितेको आव २०७७÷७८ मा वैदेशिक व्यापार ६८ प्रतिशतले बढेको हो ।
वीरगञ्ज भन्सारबाट बितेका वर्षहरूमा व्यापारको आकार बढेको प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए । वर्षेनि भइरहेको मूल्यवृद्धिका कारण अयातनिर्यातको मूल्य बढी देखिएको प्रमुख भन्सार अधिकृत पौडेलले बताए ।
पछिल्ला वर्षहरूमा औसत वस्तुको मूल्य १० प्रतिशतको हाराहारीमा बढेकाले वैदेशिक व्यापारको परिमाण पनि बढी देखिएको पौडेलको भनाइ छ । बितेको आव २०७७-७८ मा वीरगञ्ज भन्सारबाट कुल ३ खर्ब १३ अर्ब २४ करोड १९ लाख रुपैयाँको मालसामान आयातनिर्यात भएको छ । यो परिमाण आव २०७३-७४ मा १ खर्ब ८५ अर्ब ४२ करोड ६६ लाख रुपैयाँ बराबर थियो ।
वीरगञ्ज नाकाबाट आयातसँगै निर्यात व्यापारको परिमाण पनि बढेको तथ्यांकले देखाउँछ । ५ वर्षअघि साढे १३ अर्ब रुपैयाँ बराबरको निर्यात व्यापार भएकोमा बितेको वर्षसम्ममा यो परिमाण ४ गुणा बढेको छ । आव २०७७-७८ मा यो नाकाबाट ५२ अर्ब रुपैयाँभन्दा बढीको निर्यात व्यापार भएको तथ्यांक भन्सारसित छ ।
यो नाकाबाट मुख्य रूपमा इन्धन, सवारी साधन र औद्योगिक कच्चा पदार्थ, विद्युतीय उपकरणको बढी आयात हुन्छ । निर्याततर्फ प्रशोधित खानेतेल, जुसजाम, कपडा, जुत्तालगायत वस्तुको वर्चस्व रहेको भन्सारले बताएको छ ।
गतवर्षको निर्यातमा भटमास र सूर्यमुखीको प्रशोधित तेलको निकासी उल्लेख्य छ । त्यसअघि प्रशोधित पाम तेलमा भारतले रोक लगाएपछि निर्यातकर्ता भटमास र सूर्यमुखीमा तेल निकासीमा केन्द्रित भएका थिए । भारतले फुकुवा गरेपछि पाम तेलको निकासी पुनः शुरू भएको भन्सारले बताएको छ ।
वीरगञ्ज नाकाको अवस्थिति र पूर्वाधार सहज भएर पनि यो नाकाबाट अपेक्षा गरेअनुसार व्यापार भने नबढेको प्रमुख भन्सार अधिकृत पौडेल बताउँछन् । उपभोग संस्कृति र वस्तुको मूल्य बढेकाले व्यापारको मूल्य तुलनात्मक बढी देखिएको छ । तर, यो नाकाबाट अपेक्षित व्यापार अझै हुन सकेको छैन,’ उनले आर्थिक अभियानसित भने । बितेका २ आर्थिक वर्षमा कोरोना महामारीका कारण पनि व्यापार घटेको उनले बताएको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS